काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । यही जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
वरितमान कार्यसमितिमा महासचिव रहेका कुँवरले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका उनी एक दशक अगाडि एनआरएनए अष्ट्रेलियाको राज्य समन्वय परिषद्को सचिव बनेका थिए।
यसअघि कुँवर राज्य संयोजक (२०१७-२०१९), आईसीसी सदस्य (२०१९-२०२१), ओसेनिया क्षेत्रीय उप संयोजक (२०२१-२३) बनिसकेका छन् ।
करिब १० वर्षको एनआरएनए यात्राका क्रममा संस्थाको दिगो बिकास र एनआरएनए अष्ट्रेलियालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, स्रोतको पहुँचलगायत विभिन्न तहका सरकारी समन्वयकारी भूमिकामा उनले योगदान दिएका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘मेरो योगदान संस्थामा आबद्ध सबैमाझ लुकेको छैन, यसका साथै संस्थामा दिगो स्वयमसेवाको अवधारणाका लागि मेरो प्रयास जारी छ ।’ उनले अहिले अनिल पोखरेलको नेतृत्व र सामुहिक प्रयासमा संस्थाले थप उचाइ लिन सफल रहेको समेत बताएका छन् ।
आफूले अध्यक्षका रूपमा दुई वर्षका कार्ययोजनाहरू समेत तयार पारेको भन्दै उनले यसबारे छिट्टै घोषणा गर्ने उल्लेख गरेका छन् ।