काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताए । उनले यो भाष्य ठूलाबडाहरुले फैलाउने गरेको उनको भनाइ छ ।
ठूलाबडाका सन्तानहरु विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रीन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ? भन्दै उनले प्रश्न गरेका छन् । शोसकहरुले आर्थिक अवस्था कमजोर रहेका सोझा जनताहरुलाई शासन गर्ने संयन्त्रका रुपमा नभइ षड्यन्त्रका रुपमा लिने गरिएको बताएका छन् ।
‘एउटा गलत न्यारेटिभ्स नेपालमा के देखिएको छ भने श्रम आप्रवासन, पलायन, पलायन, पलायन भन्ने गरिएको छ । बुझेर हो की नबुझेर हो हामीलाई थाहा छैन । तर वैदेशिक रोजगार पलायन होइन । यो फ्लाइट होइन । यो स्वर्स अफ इकोनोमिक एक्टिभिटिज हो । अनुभव सिक्ने अवसर पनि हो ।’, उनले भने, ‘ठूला बडाका सन्तान विदेशमा पढ्न जाने, उहीँ पिआर लिने, ग्रीन कार्ड लिने, त्यो चाहीँ पलायन होइन रे । तर हाम्रा रोजगार नपाएका नागरिकहरु साउदी, कतार, दुबई, मलेसियामा गएर काम गर्दा पलायन भएको हुन्छ ? शोसकहरुले एउटा सोझा, साझा, इकोनोमिक सेक्सनका विक रहेको मान्छेहरुलाई शासन गर्ने संयन्त्रको रुपमा होइन, षड्यन्त्रको रुपमा लिएका छौँ । त्यसैले ठूलाबडाहरु जहिले पनि वैदेशिक रोजगारलाई पलायन भन्छ ।’
त्यस्तै, उनले अध्यागमनको तथ्यांकअनुसार करिव ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको बताएका छन् ।