काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन पुनः उत्कर्षमा पुगेको छ । कर्मचारीको सेवासुविधा, बढुवा तथा कर्मचारीमाथि भइरहेको विभेदपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने माग राख्दै असन्तुष्ट कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।
साउन १२ गतेदेखि माग सम्बोधन गर्नुपर्ने भन्दै कर्मचारीहरुले शान्तीपूूर्ण धर्ना दिँदै आएका छन् । तर, शान्तीपूर्ण आन्दोलन गर्दा पनि माग सम्बोधन नहुने स्थिति देखेपछि कर्मचारीहरुले आज (साउन १४ गते) देखि ‘पेन डाउन’ गरेको नेरुडे मिर्मिरे कर्मचारी संठगनका महासचिव महमद मक्सुद अन्सारीले बताएका छन् ।
अझै पनि माग सम्बोधन नभए साउन १५ गते कालोपट्टी बाँधेर विरोध जनाउने र १६ गतेदेखि देशभरका शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने अन्सारीले चेतावनी दिएका छन् ।
उनीहरुले लामो समयदेखि बढुवा नभएका कर्मचारीलाई बढुवा गर्नुपर्ने, कामु पदमा भएका कर्मचारीलाई सोही पदमा बढुवा गर्नुपर्ने, कर्मचारी कल्याणकारी कोषलाई निरन्तरता दिनुपर्ने, करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने, कर्मचारीको आधार तलब ५ हजारका दरले वृद्धि गर्नुपर्ने, कार्यालय प्रमुखलाई समान रुपमा अख्तियारी दिनुपर्ने, कर्मचारीमाथि भइरहेको विभेदको अन्त्य गर्नुपर्ने र ज्यालादारीमा कार्यरत कर्मचारी र कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी बिना सर्त करारमा नियुक्त गर्नुपर्ने र कनिष्ठ सहायक (ख) पद खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।