काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन टुंगिएको छ । साउन १२ गतेदेखि ‘उग्र आन्दोलन’ को घोषणा गरेर धर्ना दिइरहेका कर्मचारी र व्यवस्थापनबीच ‘उधारो सहमति’ भएपछि आन्दोलन टुंगिएको हो ।
आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति भएको नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी संगठनका महासचिव महमद मकसुद अंसारीले जानकारी दिएका छन् ।
कर्मचारी र व्यवस्थापनबीच भएको सहमति पत्रमा लघुवित्तका तर्फबाट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भोजराज बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) भागनारायण साहु र सहायक प्रमुख कार्यकारी बिखे बहादुर बोहोराले हस्ताक्षर गरेका छन् भने कर्मचारीका तर्फबाट कटक बहादुर साह, महमद मकसुद अंसारी, गोयल प्रसाद तिम्सिना, मनिता कार्की, विरेन्द्र बहादुर खड्का र देवेन्द्र कुमार यादवले हस्ताक्षर गरेका छन् ।
सहमतिमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीमध्ये ४४ जनालाई आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट कनिष्ठ सहायक पदमा बढुवा गर्ने र विभिन्न पदमा कामु÷निमित्त पाइरहेका ६ जना कर्मचारीको साउन मसान्तभित्र बढुवा गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, शाखा प्रमुखको अख्तियारी र कर्मचारीहरुले राखेका अन्य मागहरु साउन मसान्तभित्र सम्बोधन गर्ने र थप माग सञ्चालक समितिमा पेश गरेर जानकारी गराउने कर्मचारी र व्यवस्थापनबीच सहमति भएको छ ।
यसो त यसअघि पनि कर्मचारी आन्दोलनले उग्र रुप लिएपछि कर्मचारी र व्यवस्थापनबीच सहमति भएको थियो । यतिसम्म कि सोही सहमतिका आधारमा लघुवित्तले २०८१ असोज २० गते परिपत्र जारी गरेको थियो । तर, सहमति कार्यान्वय नभएको भन्दै कर्मचारी पुनः आन्दोलनमा उत्रिएका थिए । यसपालि पनि व्यवस्थापनले माग सम्बोधन गर्ने सहमति गरे पनि कार्यान्वयनमा भनै शंका देखिन्छ । यता पटकपटक सहमति गर्दै आन्दोलन स्थगित गर्दै आएका कर्मचारीले यसपालि पनि आन्दोलन स्थगित गरेका छन् । तर, माग सम्बोधन नभए उनीहरु पुनः आन्दोलनमा उत्रिने पक्का छ ।