काठमाडौँ । आफैँले सुन लुकाएर प्रहरीमा चोरीको निवेदन दिने दुईजना पक्राउ परेका छन् । स्याङ्जाको आँधिखोला गाउँपालिका-१ की ४१ वर्षीया चन्द्रकुमारी गुरुङ र ३८ वर्षीय धनराज गुरुङ पक्राउ परेका हुन् ।
उनीहरु देवर-भाउजू रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले साउन १२ गते घरबाट ७.५ तोला बराबरको सुन र ४ हजार रुपैयाँ नगद चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा चन्द्रकुमारीले विदेशमा रहेका आफ्ना श्रीमानलाई समेत सुन चोरी भएको बताएकी थिइन् । तर, घटनामा शंका लागेपछि प्रहरीले देवर-भाउजूलाई नै केन्द्रमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा चोरी भयो भनिएको सुन घरकै कम्पाउण्डमा फेला परेको थियो ।
त्यसपछि प्रहरीले झुठा निवेदन दिएको आरोपमा प्रहरीले देवर-भाउजूलाई पक्राउ गरेको छ । उक्त सुन देवर-भाउजू मिलेरै लुकाएको प्रहरीले आशंका गरेको छ । हाल उनीहरु दुवैमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।