काठमाडौँ । न कुनै युद्ध, न कुनै विपत्ति । पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् । मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले रोजगारीका लागि देश छाड्नेको संख्या ठूलो रहेको छ । देशमै सम्भावना नदेखेर विदेशिने क्रम बढ्दा मुलुकले ठूलो युवा श्रम शक्ति गुमाइरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार हरेक दिन विदेशी रहेको जनशक्तिमध्ये अदक्ष मात्रै छैन, दक्ष जनशक्तिको संख्या पनि ठूलो रहेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना विदेशिएका थिए । जसमध्ये ९ सय ३७ जना धेरै दक्ष नेपालीहरु विदेशिएका छन् । त्यसमा महिला भन्दा पुरुष धेरै छन् । धेरै दक्ष भएर विदेशिएका पुरुषको संख्या ६ सय ९२ रहेको छ भने महिलाको त्यस्तो संख्या २४५ रहेको छ ।
त्यस्तै, व्यवसायिक रुपमा जानेहरुको संख्या ४ हजार ३ सय ७२ रहेको छ । त्यसरी जसमध्ये पुरुष ३ हजार ७ सय ४९ पुरुष छन् भने ६ सय २३ जना महिला रहेका छन् । विदेश जाने अर्धदक्ष जनशक्तिको संख्या पनि ठूलो रहेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार ९९ हजार ७ सय २३ जना अर्धदक्ष नेपाली एक वर्षको बीचमा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमध्ये ९० हजार भन्दा बढी पुरुष छन् भने अरु महिला छन् ।
त्यस्तै, सीप सिकेर विदेश जानेको संख्या पनि ठूलो रहेको छ । एक वर्षमा ५ लाख ६ हजार भन्दा बढी युवा जनशक्ति सीप सिकेर विदेश गएको छ । जसमध्ये पुरुषको संख्या हेर्ने हो भने ४ लाख ४७ हजार भन्दा बढी छ भने महिलाको संख्या ५९ हजार ७ सय ५४ रहेको विभागको तथ्यांकले देखाउँछ । यस्तै सीप नसिकी विदेश जाने नेपालीको संख्या पनि ठूलो रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार एकै वर्षमा २२ लाख ७ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर सिप नै नसिकी विदेशिएका छन् । सीप नसिकेर विदेशिने मध्ये पुरुषको संख्या ज्यादा छ । विभागको तथ्यांक अनुसार २ लाख २ हजार भन्दा बढी पुरुषहरु सीप नसिकी विदेश गएको देखिन्छ भने २४ हजार भन्दा बढी महिलाहरु सीप बिनै विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात १९.६३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएकामध्ये २७.०९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप सिकाएर पठाउने बताइरहँदा सीप नसिकी जानेहरुको संख्या घट्नुको साटो बढ्नु चिन्ताको विषय बनेको छ ।
विभागका अनुसार गत आव २०८१/८२ मा नेपालीहरु वैधानिक माध्यमबाट १५१ मुलुकमा रोजगारीमा गएका छन् । युएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा बढी श्रमिक जाँदा १२ वटा मुलुकमा एक जनामात्र श्रमिक गएका छन् । वैदेशिक रोजगार विभागसँग विदेशिनेको तथ्यांक रहने गरेपनि कति विदेश गएर उतै बसे कति फर्किए भन्ने यकिन तथ्यांक भने छैन । यो एक वर्षको अवधिमा खाडी मुलुकसहित युरोपेली मुलुकहरुमा समेत नेपालीहरु धेरै गएको विभागको तथ्यांकले देखाएको छ ।