काठमाडौँ । सागर डिस्टिलरी लिमिटेडले साउन २८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीलाई धितोपत्र बोर्डले जारी पूँजीको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।
कम्पनीले त्यसमध्येको १० प्रतिशत अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको छ । उक्त आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा पर्याप्त आवेदन नपरे आवेदन दिने म्याद ११ गतेसम्म पुर्याइनेछ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सि-गल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।