काठमाडौँ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा अवलोकनकर्ता (भिजिटर)को संख्या नै गलत देखाएर प्रचार गरेको पाइएको छ । साउन २१ गतेदेखि काठमाडौँको भृकुटिमण्डपमा एक्स्पोको आयोजक संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले भिजिटरको संख्या गलत देखाएर प्रचार गरेको पाइएको हो ।
नाइमाले एक्स्पोको पहिलो दिन १५ हजारले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ अवलोकन गरेको दाबी गरेको छ ।
अझ नाइमाको दाबी अनुसार पहिलो दिन एक्स्पोमा अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो । तर, स्वयम् एक्स्पोमा स्टल राखेर बसेकाहरुले भने पहिलो दिनमै एक्स्पो हेर्न आउनेको संख्या साह्रै कम रहेको बताएका छन् ।
यसो त पहिलो दिन नाइमाको अटो शो हेर्न पुग्ने ‘रियल भिजिटर’को संख्या पाँच हजार हाराहारी रहेको थियो । बाँकी आयोजक आफैँले टिकटमा खर्च गरेर ‘फेक’ संख्याको प्रचार गरेको स्वयम् नाइमाको एक्स्पोमा खटिएका स्टाफले बताएका छन् । ‘सोचेजस्तो उपस्थिति नभए पनि भिजिट गर्न आउनेहरुको उपस्थिति राम्रै थियो ।’, उनले भने, ‘तर बाहिर प्रचार भएजस्तो १५ हजार जनाले पहिलो दिन अवलोकन गरेको होइन । रियल भिजिटर करिब ५ हजार थिए होलान् ।’
यसो त विगतमा पनि अटो शोमा ‘रियल भिजिटर’को संख्या लुकाएर ‘फेक’ संख्या प्रचार गर्ने अभ्यास हुँदै आएको थियो । यसपालि पनि नाइमाले सोही अभ्यासलाई निरन्तरता दिएको छ । अझ यतिसम्म कि एक्स्पोको पहिलो दिन अवलोकनकर्ताको संख्या कम हुँदा कम्पनीहरुले आफ्नै स्टाफहरु शोमा उतारेको थियो ।
साउन २१ गतेदेखि सुरु भएको एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी रहेको बताइएको छ । एक्स्पोमा ३५ वटा नयाँ सवारिसाधन पनि प्रदर्शनमा राखिएको छ ।