काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकले समीक्षा अवधिमा कुल ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.८० प्रतिशत धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा घटेपछि खुद नाफा बढेको हो । यस अवधिमा बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १३.८३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३१.६३ प्रतिशतले बढेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा पनि ५० प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस ३१.४७ रुपैयाँबाट बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ ।