काठमाडौँ । सही गरेको ब्ल्यांक चेकमा आफैँ रकम भरेर पैसा झिक्ने स्कुलका अकाउन्टेन्ट पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१३ बाफलस्थित रुपिज इन्टरनेशनल स्कुलका अकाउन्टेन्ट क्षितिज श्रेष्ठ पक्राउ परेका हुन् ।
ललितपुर बस्ने श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले ताहाचल क्षेत्रबाट पक्राउ गरेको हो ।
उनी नबिल बैंकमा रहेको स्कुलको खाताबाट १४ लाख ८० हजार रुपैयाँ निकालेर फरार भएका थिए । उनले स्कुलको आर्थिक कारोबारका लागि रुपेन्द्र कौरले हस्ताक्षर गरेर छोडेको ब्ल्यांक चेकमा आफैँ मिति, नाम र रकम राखेर चेक साटेको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार स्कुलको खाताबाट रकम झिकेर उनी फरार भएका थिए । उनीविरुद्ध प्रहरीमा परेको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौँले साउन १५ गते पक्राउ पुर्जी जारी गरेको थियो । हाल पक्राउ परेका श्रेष्ठलाई आपराधिक विश्वासघात र ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर भद्रकाली पठाइएको छ ।