काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुको मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् ।
उनले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको बताएका छन् । विद्युत विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तिव्रताका साथ आगाडि बढाइरहेको समेत उर्जामन्त्री खड्को भनाई छ ।
हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भइरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको मन्त्री खड्काले बताएका छन् । सरकारले विद्युत निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको उनको भनाइ छ ।
‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौँ भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौँ ।’, उनले भने, ‘झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत पुर्याउन बाँकी छ । ति ठाउँहरुमा पनि विद्युत आपूर्ति गरिराखेको अवस्था छ ।’ त्यस्तै, उनले वैकल्पिक उर्जा विकासका लागि समेत सरकार लागिपरेको बताएका छन् ।