काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । इजाजतप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार लघुवित्तहरुले पूँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपातलाई आधार मानेर ५ देखि २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन् ।
नयाँ निर्देशन अनुसार पूँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि र निष्क्रिय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्नेछन् । त्यस्तै, पूँजीकोष अनुपात १० देखि १२ प्रतिशत र निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुने लघुवित्तले २० प्रतिशतसम्म लाभांश र ८ देखि १० प्रतिशत पूँजीकोष अनुपात र ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा हुने लघुवित्तहरुले १५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन् ।
यसरी पूँजीकोष अनुपात र निष्क्रिय कर्जा अनुपातका आधारमा लघुवित्तले लाभांश दिन सकिने व्यवस्था गरिए पनि अन्य आधार समेत लिनुपर्ने अवस्था आएमा राष्ट्र बैंकले तोकेको सीमा भन्दा कम हुनेगरि लाभांश स्वीकृत गर्न सक्ने निर्देशनमा उल्लेख छ । लघुवित्तले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पूँजीकोष अनुपात कायम गर्नुपर्ने पनि नयाँ निर्देशनमा व्यवस्था गरिएको छ ।
नयाँ निर्देशन अनुसार १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा अनुपात भएका लघुवित्तहरुले भने लाभांश वितरण गर्न पाउने छैनन् । यसअघि राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा सोभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो ।