काठमाडौँ । के तपाईं विदेश भ्रमणमा जाँदै हुनुहुन्छ ? विदेश जानका लागि कतै तपाईंले पनि एभरेष्ट बैंकको डलर कार्ड र ट्राभल कार्ड त बनाउनु भएको छैन ? यदि त्यसो हो भने एभरेष्ट बैंकले तपाईंलाई झुक्याउन सक्छ ।
काठमाडौँका एकजना सेवाग्राहीले एक महिनाअघि बेलायत भ्रमण जाँदा एभरेष्ट बैंकको लापरवाहीका कारण आफूले निकै दुःख पाएको बताएकी छिन् ।
ती सेवाग्राहीका अनुसार उनले बेलायत जानका लागि गत असार २० गते एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटबाट डलर कार्ड र ट्राभल कार्ड बनाएकी थिइन् । सोही अनुरूप बैंकले उनलाई यी दुवै कार्ड उपलब्ध गराएको थियो । अन्तराष्ट्रिय अभ्यास अनुसार डलर कार्ड र ट्राभल कार्डको रङ फरक हुनुपर्ने प्रावधान छ । अर्कोतर्फ कार्डमा नै कुन डलर कार्ड र कुन ट्राभल कार्ड स्पष्टसँग लेखिएको हुनुपर्छ ।
तर, एभरेष्ट बैंकले यी दुवै कार्डको रङ एउटै राखेको छ । न त बैंकले दिएको कार्डमा डलर कार्ड र ट्राभल कार्ड भनेर लेखिएको छ । एउटै रङ भएकाले झट्ट हेर्दा यी दुवै कार्ड उस्तै लाग्छन् । डलर कार्ड र ट्राभल कार्डमा सेवाग्राही झुक्किन सक्ने भन्दै बैंककै कर्मचारीले ती सेवाग्राहीलाई छुट्टाछुट्टै कभरमा बाहिर डलर कार्ड र ट्राभल कार्ड भनेर लेखेर दिएका थिए ।
बैंकको नियम अनुसार विदेश भ्रमणमा जाने नागरिकले डलर कार्डमा ५०० अमेरिकी डलर र ट्राभल कार्डमा २५०० डलरसम्म राख्न पाउँछन् । सेवाग्राहीले गत असार २४ मा बेलायत जाँदा डलर कार्ड घरमै छोडिन र ट्राभल कार्ड मात्रै बोकेर गइन् । तर, उता गएपछि उनको कार्डले काम गरेन ।
‘म युके गइसकेपछि मेरो ट्राभल कार्ड चलेन र मैले बैंकलाई इमेलमार्फत मेरो कार्ड चलेन, मैले यहाँ ट्रान्जेक्सन गर्न सकिन भनेर खबर गरेकी थिएँ । तर बैंकले मलाई गरेको इमेल अनुसार मेरो ट्राभल कार्डको नम्बर डलर कार्डसँग र डलर कार्डको नम्बर ट्राभल कार्डसँग मिलेको मैले जानकारी पाएँ ।’, उनले भनिन्, ‘यस हिसाबले मेरो ट्राभल कार्ड घरमै छुटेछ । बैंकको लापरवाहीका कारण मैले विदेशमा सास्ती खेप्नुपर्यो । यदि त्यो ठाउँमा मेरो कोही आफन्त थिएनन् भने मैले के गर्थेंहोला ? यस्तो लापरवाहीले कति मान्छे मर्कामा परेका होलान् ?’
यस विषयमा बुझ्न बैंकमा पटक पटक सम्पर्क गर्दा बैंकका कर्मचारीले कुनै स्पष्ट जवाफ दिन चाहेनन् । लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्दा बैंकका कर्मचारीले यस विषयमा आफूलाई जानकारी नहुने बताए । डलर कार्ड र ट्राभल कार्डको बारेमा बुझ्न बानेश्वर शाखामा सम्पर्क गर्न भने पनि बानेश्वर शाखाका कर्मचारीले यस विषयमा कुरा गर्न चाहेनन् ।