काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने काम बन्दीपुरवासीको भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले बन्दीपुरलाई अरु कसैले नबनाइदिने बताएका हुन् ।
राज्य र अन्य विकासप्रेमीको साथ लिएर बन्दीपुरको भविष्यलाई उज्यालो बनाउन उनले बन्दीपुरवासीलाई आग्रह गरेका छन् । बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण रहेको उल्लेख गर्दै उनले हाल बन्दीपुर पुनः जीवित भएको बताएका छन् ।
फुलेफक्रेको बन्दीपुर एक समयमा ओइलाएको उनको भनाई थियो । बन्दीपुरले पर्यटन र संस्कृतिको क्षेत्रबाट पर्वतीय पर्यटनमा ठूलो योगदान दिएको उनले बताए । अर्थमन्त्री पौडेलले बन्दीपुरसँग भएको क्षमता, सम्भावनाको भने भरपुर उपयोग हुन नसकेको उल्लेख गरेका छन् ।
त्यस्तै, उनले बन्दीपुरले मानिसलाई तानेर, बाँधेर राख्ने क्षमता राख्ने बताएका छन् । बन्दीपुरको सामर्थ्यलाई अत्याधिक रुपमा उद्घाटित गर्न अर्थमन्त्री पौडेलले आग्रह गरेका छन् ।