काठमाडौँ । एनसेलले कार्यालयमा तोडफोड र आगजनी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लैनचौरस्थित मुख्य कार्यालयमा तोडफोड र आगजनी गर्नेविरुद्ध एनसेलले जिल्ला प्रहरी कार्यालय, काठमाडौँमा उजुरी दिएको हो ।
प्रहरीमा एनसेलले दिएको उजुरीमा कम्पनीका सुरक्षाकर्मीलाई थुनेर राखेको, सामाग्री तोडफोड गरेको, महत्वपूर्ण कागजात जलाएको, डकैती गरेको र नगद तथा सेफसमेत लुटेको उल्लेख छ ।
सो दिन कार्यालयमा प्रवेश गरेको समूहले कम्पनीको दशवटा तलामा रहेका कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर, कर्मचारीका व्यक्तिगत सामान, ल्यापटप र गहनासमेत लुटेर लगेको एनसेलले दिएको उजुरीमा भनिएको छ ।
उजुरीसँगै एनसेलले कम्पनीमा भएको आर्थिक र भौतिक क्षतिको विवरण पनि प्रहरीलाई बुझाएको छ । सो लुटपाट, तोडफोड र आगजनीको समयको सिसिटिभी फुटेज पनि एनसेलले प्रहरीमा बुझाएको छ ।