काठमाडौँ । लहान नगरपालिकामा मेयर महेशप्रसाद चौधरीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका विजय चौधरीको श्रीमतीलाई रोजगारी दिने घोषणा गरेका छन् । लहान नगरपालिका-१५ का २७ वर्षीय चौधरीको सम्मान तथा परिवारलाई सहज होस् भनेर श्रीमतीलाई रोजगारी दिने घोषणा गरेको मेयर चौधरीले बताएका छन् ।
श्रीमतीलाई रोजगारीसँगै परिवारलाई खाद्यान्न सामाग्रीसहित एक लाख रुपैयाँसमेत सहयोग गरिने मेयर चौधरीले घोषणा गरेका छन् ।
त्यस्तै, मृतक चौधरीकी ४ वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने चौधरीले जानकारी दिएका छन् । चौधरीको भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गएको थियो । श्रीमती र छोरीसहित काठमाडौँमा डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्थे ।
मेयर चौधरीको यस्तो घोषणाले जेनजी आन्दोलनमा सहिद भएका चौधरीको परिवारलाई जीवनयापनमा सहज हुने विश्वास गरिएको छ ।