काठमाडौँ । सरकारले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायत शीर्ष नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक दमन र भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणको दायरामा परेका शीर्ष नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी सरकारले गरेको हो ।
पासपोर्ट रोक्का गर्नका लागि ओली, लेखक, काँग्रेस सभापति शेर बहादुर देउवा, पत्नी आरजु राणा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताको नाम अघि सारिएको स्रोतको दाबी छ ।
शीर्ष नेताहरुको पासपोर्ट रोक्का गर्ने विषयमा प्रधानमन्त्री कार्यालयले आवश्यक परामर्श गरिरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार सो विषयमा प्रधानमन्त्री कार्यालयले अध्यागमन विभाग र राहदानी विभागको समेत राय लिइसकेको छ ।
तर, हालसम्म कुनै पनि नेताको रोक्का भने भएको छैन । पासपोर्ट रोक्का गर्नुपर्ने कारणसहितको पत्र अध्यागमन विभागमा पठाइएपछि नेताहरुको पासपोर्ट रोक्का हुनेछ । त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको स्रोतले बताएको छ ।