काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले १० लाखमुनिका योजना खारेज गर्ने प्रस्ताव गरेका छन् । धनगढीमा सर्वदलीय बैठक डाकेर मुख्यमन्त्री शाहले १० लाखमुनिका योजना बजेटबाट कटौती गर्ने प्रस्ताव गरेका हुन् ।
तर, सत्ता साझेदार दल एमालेका सांसदहरुले मुख्यमन्त्रीको सो प्रस्तावमा असहमति जनाएका छन् ।
एमाले सांसद्को असहमतिपछि सो निर्णय नहुँदै बैठक टुंगिएको थियो । यता मुख्यमन्त्री शाहले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा सकारात्मक सन्देश दिन भन्दै १० लाखमुनिका योजना कटौती गर्ने प्रस्ताव गरेको बताएका छन् । तर, मुख्यमन्त्रीको उक्त प्रस्तावमा सुरेन्द्र बहादुर पाल र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले असहमति जनाएका थिए ।
पालले बजेटमा समावेश गरिएको योजनाहरु कार्यान्वयनको प्रक्रियामा गइसकेकाले कटौती गर्न नहुने भन्दै असहमति जनाएको बैठकमा सहभागी एक नेताले अर्थ सरोकारलाई बताएका छन् ।













