काठमाडौँ । आर्यतारा होल्डिङ्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष नवराज अम्गाईले वर्तमान लगानीको अवस्था, कम्पनीको हालको स्थिति र आगामी रणनीतिबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अम्गाईका अनुसार हाल होल्डिङ्सले जलविद्युत, हस्पिटालिटी तथा सिमेन्ट उद्योगमा लगानी गरिरहेको छ । आगामी दिनहरूमा संस्थाले होटेल, रेस्टुरेन्ट, यातायात, एयरलाइन्स, हेलिकप्टर सेवा, कृषि क्षेत्रमा आधुनिक प्रविधिबाट उत्पादन र बजार व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समेत लगानी विस्तार गर्ने योजना बनाएको जानकारी उनले दिएका छन् ।
यस्ता सम्भावित लगानीका लागि विभिन्न क्षेत्रमा अध्ययन भइरहेको र उपयुक्त निर्णय आगामी दिनमा लिइने उनले स्पष्ट पारेका छन् । साधारणसभाले अध्यक्ष अम्गाईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
होल्डिङ्सको सञ्चालक समितिमा श्याम शर्मा आचार्य, माधव नारायण तिवारी, तुल्सी प्रसाद भट्ट र ध्रुव प्रसाद भट्ट रहेका छन् । साधारणसभामा संस्थाका सल्लाहकारहरू प्रकाशचन्द्र देवकोटा, भिम प्रसाद पन्त, मुक्ति पाण्डे र नारायण रेग्मीले संस्थाको उज्ज्वल भविष्य र व्यवसायिक सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।