काठमाडौँ । हरेक वर्ष दशैँ-तिहारका बेलामा एयरलाइन्स कम्पनीहरुले हवाई भाडा असाध्यै बढाउने गर्छन् । यसवर्ष पनि सोही प्रवृत्ति दोहोरिएको छ । दशैँको मुखमा एयरलाइन्स कम्पनीहरुले हवाई भाडाको मूल्य ह्वात्तै बढाएका छन् । अझ कतिपय गन्तव्यको भाडादर त तेब्बरले वृद्धि गरिएको छ ।
सामान्यतया अरु बेलामा काठमाडौँ-धनगढीको हवाई भाडादर ७ हजार ९ सय हुन्छ । तर, अहिले काठमाडौँ-धनगढीको हवाई भाडा १६ हजार ७ सय ९० रुपैयाँ पुर्याइएको छ । यो भाडा सामान्य अवस्थाको तुलनामा दोब्बर भन्दा पनि धेरै हो ।
यसो त अहिले काठमाडौँ-नयाँ दिल्लीको हवाई भाडादर १२ हजार ४८ रुपैयाँ छ । त्यस्तै, काठमाडौँ-थाइल्याण्डको भाडादर १६ हजार ४ सय २४ रुपैयाँ छ । अर्थात, अहिले काठमाडौँदेखि धनगढी जानु भन्दा काठमाडौँदेखि दिल्ली वा थाइल्याण्ड जान सस्तो पर्ने देखिएको छ ।
यसरी एयरलाइन्स कम्पनीले दशैँ तिहारको मौका छोपेर भाडादर अस्वभाविक रुपमा बढाएपछि अहिले यात्रुहरु मर्कामा परेका छन् । यसै पनि अधिकांश राजमार्ग अवरुद्ध भएको अवस्थामा एयरलाइन्स कम्पनीहरुले यात्रुको ढाड सेक्नेगरी भाडा बढाएपछि यात्रुहरु थप समस्यामा परेका छन् । हाल यात्रुहरुले अत्याधिक बढाइएको हवाई भाडादरको विरोध गर्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिरहेका छन् ।