काठमाडौँ । युट्युबले मुद्दा सल्टाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २४.५ मिलियन डलर (करिब ३ अर्ब ४७ करोड रुपैयाँ) बुझाएको छ ।
सन् २०२१ मा आफ्नो अकाउन्ट निलम्बन गरेको भन्दै ट्रम्पले युट्युबविरुद्ध दर्ता गरेको मुद्दा टुंग्याउन युट्युबले ट्रम्पलाई ३ अर्ब ४७ करोड रुपैयाँ तिरेको हो ।
युट्युबले बुझाएको २४.५ मिलियन डलरमध्ये २२ मिलियन डलर ‘ट्रस्ट फर द नेशनल मल्ल’ नामक संस्थालाई दिइनेछ । सो रकमले ह्वाइट हाउसमा बलरूम निर्माण गरिनेछ भने बाँकी रहेको २.५ मिलियन डलर मुद्दा हाल्ने अन्य व्यक्तिहरूलाई दिइनेछ ।
यसो त सामाजिक सञ्जाल प्लेटफर्मले ट्रम्पलाई पैसा बुझाएको यो पहिलो घटना होइन । यसअघि ट्रम्पसँग मुद्दा मिलाउन मेटाले २५ मिलियन डलर र ट्विटर (हाल एक्स)ले १० मिलियन डलर बुझाएको थियो ।