काठमाडौँ । टिकट नपाएपछि दुई मन्त्रीको इलाम जाने कार्यक्रम स्थगित भएको छ । गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको इलाम जाने कार्यक्रम स्थगित भएको हो ।
उनीहरु इलामको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आइतबार ११ बजे त्यसतर्फ जाने तयारीमा थिए ।
तर, काठमाडौँदेखि झापाको भद्रपुर जाने नियमित उडानको टिकट नपाएपछि इलाम जाने कार्यक्रम स्थगित गरिएको हो । उनीहरु भद्रपुरसम्म प्लेनमा र त्यहाँबाट हेलिकप्टरमा इलाम जाने तयारीमा थिए । तर, टिकट नपाएपछि आज इलाम जाने कार्यक्रम स्थगित भएको गृह मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार आइतबार इलाम जाने कार्यक्रम स्थगित भए पनि राहत सामाग्री लिएर छिट्टै इलाम जाने अर्को कार्यक्रम तय हुनेछ । हालसम्म इलाममा पहिरोमा परेर ३७ जनाले ज्यान गुमाएका छन् ।