काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले पाठ्यक्रम परिमार्जन र अद्यावधिक गर्न निर्देशन दिएका छन् । पाठ्यक्रम विकास केन्द्र अवलोकनपछि केन्द्रका पदाधिकारीसँगको छलफलमा मन्त्री पुनले पाठ्यक्रम परिमार्जन र अद्यावधिक गर्न निर्देशन दिएका हुन् ।
छलफलमा मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिन निर्देशन दिएको पुनले बताएका छन् ।
पुनले बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसमेत अवलोकन गरेका थिए । उनले प्रतिष्ठानको भवन र त्यहाँ रहेको ल्याब उच्च कोटीको रहेको र सोही अनुसार काम हुनुपर्नेमा जोड दिएको बताएका छन् ।
त्यस्तै, मन्त्री पुनले शिक्षा तथा मानव श्रोत विकास केन्द्र पनि अवलोकन गरेका थिए । उनले त्यहाँ शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरूको नियुक्ति गर्न देशैभरि लागू हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामाग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने भन्ने विषयमा आवश्यक निर्देशन दिएको पनि बताएका छन् ।