काठमाडौँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले चिकित्सकलाई औषधिको नाम ठूलो (क्यापिटल) अक्षरमा लेख्न निर्देशन दिएको छ । सानो अक्षरमा औषधिको नाम लेखेर सिफारिस गर्दा नाम बुझ्नै गाह्रो हुने र फार्मेसीलाई पनि नाम बुझ्न गाह्रो हुने भन्दै टिचिङले यस्तो निर्देशन दिएको हो ।
चिकित्सकले लेखिदिएको औषधीको नाम चिन्न गाह्रो हुँदा गलत औषधिसमेत पर्दा बिरामीको स्वास्थ्यमा जोखिम हुने गुनासो बढेपछि यस्तो निर्देशन दिइएको टिचिङ अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार टिचिङमा कार्यरत सबै चिकित्सकलाई ‘जेनेरिक’ औषधि सिफारिस गर्दा अनिवार्य रुपमा क्यापिटल अक्षरमा लेख्न निर्देशन दिइएको छ । यसले औषधिको नाम लेख्न डाक्टरलाई केही समय बढी लागे पनि बिरामीले सही औषधि पाउने अपेक्षा गरिएको छ ।
अर्कोतर्फ बिरामीको चाप बढी हुँदा डाक्टरले हतारमा औषधिको नाम लेख्ने र फार्मेसीले नबुझ्दा उत्पन्न हुने समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ । टिचिङ अस्पतालमा दैनिक ओपिडीमा २५०० देखि ३००० बिरामी आउँछन् भने इमर्जेन्सीमा १५५ देखि १६० बिरामी आउने गरेका छन् ।