काठमाडौँ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ठूलो परिमाणमा घट्दा पनि नेपालमा सोअनुसार समायोजन नभएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । तिहारपछि खुलेको बजारमा तोलामा ११ हजार ६०० रुपैयाँले मात्र सुनको मूल्य घटेपछि उनीहरूले सो घटोत्तरी अन्तराष्ट्रिय दरसँग मेल नखाएको आरोप लगाएका हुन् ।
व्यवसायीहरूको भनाइमा आइतबार नै तोलामा कम्तीमा २० हजार रुपैयाँले मूल्य घट्नुपर्ने थियो । तर अपेक्षाभन्दा निकै कम घटेपछि उनीहरूले सुनचाँदी व्यवसायी महासंघको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।
‘सुनको भाउ आइतबार नै तोलाको २० हजार रुपैयाँसम्म घट्नुपर्ने थियो, तर ११ हजार ६०० रुपैयाँमात्र घटाइयो,’ एक व्यवसायीले अर्थ सरोकारसँग भने, ‘सरकार कमजोर र नियामक नहुनुको फाइदा उठाइएको छ, यो सरासर गलत हो ।’
यता, तोलाको ११ हजार ६०० रुपैयाँ घटे पनि धेरै व्यवसायीहरूले सुन लुकाउन थालेका छन् । घटेको मूल्यमा बिक्री गर्न नमानेर उनीहरूले पुरानै महँगो दरमा मात्र बिक्री गर्ने, अन्यथा नबेच्नेजस्ता कालोबजारीका अभ्यास बढेका छन् ।
विशेषगरी विराटनगर, वीरगन्ज लगायतका सहरमा यस्तो अवस्था बढी देखिएको छ भने काठमाडौंका केही पसलहरूले पनि नियमित ग्राहकबाहेक नयाँ घटेको मूल्यमा सुन बिक्री गर्न मानेका छैनन् । केहीले बजारमा सुन अभाव भएको भन्दै सुन लुकाएको समेत पाइएको छ ।
यसैबीच, व्यवसायीहरूले सुनको मूल्य अझै घट्ने अनुमान गरेका छन्। कतिपयले तोलाकै डेढ लाख रुपैयाँसम्म झर्न सक्ने प्रक्षेपण गरेका छन् । अन्तराष्ट्रिय बजारमा मूल्य निरन्तर ओरालो लागिरहेको हुँदा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिने विश्लेषण गरिएको छ ।
मंसिर महिनामा विवाहको तयारी गरिरहेका उपभोक्ताहरू भने महँगोमा खरिद गरेको सुनको मूल्य घटेपछि चिन्तित भएका छन् । तिहारका बेला तोलाको तीन लाख रुपैयाँ पुग्ने हल्लाबीच महँगोमा खरिद गरेका धेरै उपभोक्ता अहिले एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँ घटेपछि फसेको महसुस गरिरहेका छन् ।













