काठमाडौँ । सिक्री चोर्ने ग्याङ्गका पाँच जना पक्राउ परेका छन् । काठमाडौँका विभिन्न स्थानमा योजनाबद्द रुपमा गलाको सिक्री चोर्ने ग्याङ्गका पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका घर भएका २८ वर्षीय राज लामा, उदयपुरको ताप्ली गाउँपालिका-४ घर भएका २० वर्षीय दुर्गाबहादुर मगर, रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ घर भएका ३२ को दिल बहादुर बि. क. , बागलुंगको गल्कोट नगरपालिका २ घर भएका ४० वर्षीय गोविन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका–७ का २२ वर्षीय दिपेश रसाइली छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राज लामा सिक्री थुत्दा मोटरसाइकल चलाउने हुन् भने दुर्गाबहादुर राजले चलाएको मोटरसाइकल पछाडि बसेर गलाको सिक्री थुत्ने व्यक्ति हुन् । दिलबहादुर लुटिएको सिक्री बिक्री गरिदिने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनले भक्तपुरको सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सुनचाँदी पसल सञ्चालन गरेका छन् ।
त्यस्तै, गोविन्द र दिपेश लुटिएको सिक्री किन्ने व्यक्ति हुन् । गोविन्द बुढानीलकण्ठमा कालिका ज्वेलर्सका र दिपेश संकटामा रहेको मनु जेम्स एण्ड ज्वेलर्सका सञ्चालक हुन् ।
यो ग्याङ्गले असोजदेखि यता एक महिनाको अवधिमा मात्रै ७ पटक सुनको सिक्री लुटेको पाइएको छ ।
सिक्रि लुटपाट गरेका स्थानहरू
१ . मिति २०८२।०६।०८ गते, जिल्ला ललितपुर नख्खुडोलबाट १।५ तोलाको सिक्री चुडालेर लगेको
२ . मिति २०८२।०६।२३ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्रि चुडालेर लगेको
३ . मिति २०८२।०६।२६ गते, ललितपुर बुद्दचोकबाट ३ तोलाको सिक्री चुडालेर लगेको
४ . मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री आधा चुडालेर लगेको
५ . मिति २०८२।०७।०१ गते, रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री आधा चुडालेर लगेको
६ . मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट झोला र सामसुङ्ग कम्पनीको मोबाइल थान १ लुटपाट गरेको
७ . मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, तार्केश्वर नगरपालिका बालाजु नेपालटार स्थितबाट २ तोलाको सिक्रि चुडालेर लगेको
प्रहरीले उनीहरुको साथबाट चोरी तथा लुटपाट गर्दा लगाएका कपडा, ७० थान भन्दा बढी सीमकार्ड, मोबाइल, चोरी गर्न प्रयोग भएको मोटरसाइकल, अरु ३ थान मोटरसाइकल बरामद गरेको छ । त्यसैगरी दिलबहादुरबाट ३ लाख ८८ हजार बरामद भएको छ । गोविन्दबाट ७ तोला ४४ लाल सुन बरामद भएको छ भने नगद १ लाख ६६ हजार बरामद भएको छ ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट चोरी तथा लुटपाटको कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।













