Skip to content
LAXMI SUNRISE BANK

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास, सडकमै गास ! (तस्वीरहरु)

अर्थ सरोकार

चितवन । धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँतर्फ खाद्यान्न बोकेर हिँडेका मालवाहक गाडी र यात्रुवाहक बस अलपत्र परेका छन् । बडा दसैँ नजिकिँदै गर्दा समयमै गन्तव्यमा पुग्न नपाएका चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बसपार्क अगाडिको मुख्य सडकमै रोकिएका छन् ।

हाल भरतपुरको मुख्य सडकमा मालवाहक गाडीहरूको लामो लस्कर रूपमा देख्न सकिन्छ ।

शुक्रबार रातिदेखि नै रोकिएका चालक विशाल राजपुतका अनुसार चामल तथा दसैँलक्षित अत्यावश्यक खाद्य सामग्री बोकेका गाडीहरू जाममा परेका छन् । उनीहरू सडक छेउमै चुल्हो बालेर बस्न र रात काट्न बाध्य भएका छन् । 

‘हामीलाई दसैँ र चाडपर्व भनेको केही हुँदैन । यसरी बाटोमा अलपत्र पर्दा महँगो खर्च, खानेकुराको जोहो र सार्वजनिक शौचालयको अभावले हामीलाई सबैभन्दा ठूलो सास्ती दिने गरेको छ ।’, उनले सुनाए । नजिकैको धाराबाट पानी ल्याएर सडकमै खाना पकाएर खाएको उनले बताए ।

यसअघि पनि काठमाडौँतर्फ जाँदा कृष्णभीरलगायत ठाउँमा लामो समयसम्म अलपत्र परेको स्मरण गर्दै उनले चाँडो अवरुद्ध सडक खुल्ने अपेक्षा राखेका छन् । चाडपर्वका लागि समयमै खाद्यान्न गन्तव्यमा पुर्याउने र दसैँ अगावै आफ्ना परिवारसँग भेटघाट गर्ने चालकहरूको चाहना छ । चितवन, धादिङ हुँदै काठमाडौँ हिँडेका यात्रु पनि अलपत्र छन् । भरतपुर बसपार्कमा अलपत्र परेका काठमाडौँ हिँडेका यात्रुहरूलाई हेटौँडाको वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले सहजीकरण गरेका छन् । चालकले फिर्ता नगरेको भाडासमेत मिलाएर यात्रुलाई प्रहरीले गन्तव्यतर्फ पठाएको छ । 

गजुरीबाट काठमाडौँतर्फ पाँच किलोमिटर टाढा ७० मिटर लम्बाइ र ४ मिटर सडक भासिएको नागढुंगा-मुग्लिन सडक योजनाको पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरले बताए । भित्तासम्मै चर्किएको र तत्काल बाटो खुलाउनुपर्ने भएकाले पाँच वटा एक्साभेटर, दुई वटा लोडर, ६ वटा टिप्पर प्रयोग गरेर ब्याक कटिङ थालिएको उनले बताए । 

राजमार्गमाथि गाउँ जाने शाखा बाटो रहेकाले सबै भित्ता कटिङ गर्न नमिलेको उनले सुनाए । शनिबार साँझसम्म राजमार्ग एकतर्फी खुलाउने योजनाअनुसार काम भइरहेको उनको भनाइ छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK