काठमाडौँ । बिजुलीको बिल तिर्न पटक पटक ताकेता गर्दा पनि पैसा नतिरेका उद्योगीहरुले सिमेन्टको भाउ बढाएका छन् । निर्माण कार्यको सिजन सुरु भएसँगै एक दर्जन भन्दा बढी सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य बढाएका हुन् ।
उद्योगीहरुले सिमेन्टको मूल्य फ्याक्ट्री मूल्यमै प्रतिबोरा २० रुपैयाँसम्म बढाएका छन् । यो मूल्य सिमेन्ट बजारमा आउँदा थप बढ्ने व्यापारीहरुले बताएका छन् ।
सिमेन्टको मूल्य बढाउनेहरुमा ह्वासिन सिमेन्ट, शिवम् सिमेन्ट, युनाइडेट सिमेन्ट, मकवानपुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट, गोयन्का सिमेन्ट, सिजी सिमेन्ट, अम्बे सिमेन्ट, होङ्सी सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट, जगदम्बा सिमेन्ट र तानसेन सिमेन्ट छन् । यी उद्योगहरुले शनिबारदेखि बढेको मूल्य लागू गरिसकेका छन् ।
यसपाली उद्योगीहरुले ओपिसी र पीपीसी दुवै सिमेन्टको मूल्य बढाएका छन् । सिजनमै सिमेन्टको मूल्य बढाएपछि हाल उपभोक्ताहरु मर्कामा परेका छन । यसअघि पनि उद्योगीहरुले सिमेन्टको मूल्यवृद्धि गरेका थिए । हाल पुनः मूल्य बढाएपछि थप मर्कामा परेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
यता उद्योगीहरुले भने उत्पादन लागत बढ्दा र कच्चा पदार्थ, ढुवानी तथा उर्जा लागतमा वृद्धि हुँदा मूल्य वृद्धि गर्नुपरेको बताएका छन् । तर, अहिले मूल्यवृद्धि गर्नुपर्ने अवस्था नभएको भन्दै उपभोक्ता र निर्माण व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।













