काठमाडौँ । पोखरा बचत तथा ऋण सहकारी संस्थामा झण्डै एक अर्ब रुपैयाँ हिनामिना भएको पाइएको छ । वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनले सहकारीको ८९ करोड रुपैयाँ हिनामिना भएको देखाएको हो ।
समितिले गरेको अध्ययनबाट सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको खुलेको छ ।
सहकारीमा ठूलो रकम हिनामिना गरेको पाइएपछि प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई पक्राउ गरेको छ । त्यस्तै, सहकारीका सदस्य दोर्जे तामाङ, सुपरभाइजर मार्के प्रमुख, बेदीप्रसाद सुवेदीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका सात जनालाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।













