काठमाडौँ । नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पक्राउ परेका पूर्वसहसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौँले कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरिएको थियो । कार्कीले ट्रस्टको जग्गा लिज सम्झौतामा हस्ताक्षर गरेका थिए ।
६६ वर्षीय कार्कीमाथि ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । उनीमाथि ट्रस्टलाई नोक्सान हुनेगरि ३० वर्षका लागि जग्गा लिजमा दिएको आरोप छ ।
कार्की पक्राउ परेसँगै सीआईबीको नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमाथिको अनुसन्धान केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तिर सोझिएको छ । जग्गा लिजका लागि बोलपत्र आह्वान गर्दा र सम्झौता गर्दा ओली र प्रचण्ड नै प्रधानमन्त्री थिए ।
(यसअघिको समाचारमा गलत फोटो प्रकाशन भएकोमा क्षमा याचनासहित सच्याईएको छ । – सम्पादक)













