काठमाडौँ । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) का प्रमुख सन्दीप जलानले ब्रोकरमा छापा मारिएको विषय हल्ला भएको दाबी गरेका छन् । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५८ मा छापा मारेको खबर सार्वजनिक भएपछि उनले ब्रोकरमा छापा मारिएको कुरा हल्ला मात्र भएको बताएका हुन् ।
त्यस्तै, उनले विभिन्न सञ्चारमाध्यममा आफू पक्राउ परेको खबर सार्वजनिक भए पनि उक्त खबर निराधार भएको बताएका छन् ।
‘म अफिस मै छु ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘धितोपत्र बोर्डले छापा मारेको कुरा पनि गलत हो । ६ महिनाअघि इन्सपेक्सन भएको हो । त्यसपछिका कुरा थाहा छैन ।’
यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने ब्रोकर नम्बर ५८ मा एनआरएनको विषयलाई लिएर विशेष इन्स्पेक्सन भएको दाबी गरेका छन् । यद्यपि यसलाई छापा भन्ने शब्द प्रयोग गर्न ठिक नहुने तर्क उनको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।













