काठमाडौँ । नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । नेपालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ ।
जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो । पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहीँबाट सुरु गरेका थिए ।
ऐतिहासिक उद्योग भए पनि राजनीतिक हस्तक्षेप हुँदा पटकपटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ । लामो समयदेखि बन्द भएको उद्योग खण्डहरजस्तै बनेको छ ।
संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भएका छन् । भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खिया लागेर काम नलाग्ने भएका छन् । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनासँगै मिलको अवस्था खस्किन सुरु भएको हो । सञ्चालक समितिमा राजनीतिक भर्ती गर्ने र राजनीतिक अस्थिरताका कारण नेतृत्व र व्यवस्थापन पटक पटक परिवर्तन भएकाले उद्योग यो अवस्थामा पुगेको जानकारहरु बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस:














