काठमाडौँ । अब संयुक्त अरब इमिरेट्स (यूएई) जान प्रहरी रिपोर्ट अनिवार्य चाहिने भएको छ । यूएईले भिजिट र श्रम भिसामा यूएई जान नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने नियम लागू गरेको हो ।
योसँगै अब यूएईमा भिसा आवेदन दिँदा नेपाली नागरिकले अनिवार्य रुपमा नेपाल प्रहरीले जारी गरेको रिपोर्ट पेस गर्नुपर्ने काठमाडौँस्थित यूएई दूतावासले जनाएको छ ।
यसो त यूएईले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि भिसा जारी गर्न बन्द गरेको थियो । सुरक्षाको कारण देखाएर भिजिट र श्रम भिसा बन्द गरेको यूएईले अहिले भने सबै प्रकारका भिसा खुल्ला गरिएको जानकारी दिएको छ ।
तर, भिसा आवेदन दिन प्रहरी रिपोर्ट अनिवार्य गरेको दूतावासले जनाएको छ । यूएईले भिसा बन्द गरेपछि वर्क परमिट जारी गरिएको झण्डै पाँच हजार नेपाली श्रमिक रोकिएका छन् ।













