काठमाडौँ । सम्पदा लघुवित्तमा नक्कली नागरिकताका आधारमा कर्जा दिइएको प्रकरणमा लघुवित्तका तत्कालीन सिइओ केशव कुमार पौडेलले आफु केहि पनि नबोल्ने बताएका छन् । कर्मचारीले टार्गेटका नाममा मनपरी ढंगले ऋण प्रवाह गर्दा उनी स्वयम् नै कम्पनीको सीइओ थिए । तर, अहिले आएर उनी घटना शाखाको भएको भन्दै उम्किन खोजेका छन् ।
उनी सिइओ हुँदा नै नक्कली नागरिकता राखेर कर्जा दिइएको थियो । त्यसरी नक्कली नागरिकताका आधारमा ऋण दिने कर्मचारीलाई राजिनामा गर्न लगाएर पनि उनैले उन्मुक्ति दिएका थिए । नक्कली नागरिकता हो भन्ने थाहा पाउँदा पाउँदै ऋणीहरुलाई ऋण दिईएको थियो ।
पौडेल २०७८ बैशाख २४ गते साबिकको सबैको लघुवित्तमा दोस्रो कार्यकालका लागि सिइओ नियुक्त भएका थिए । २०८० सालमा सबैको लघुवित्त र साधना लघुवित्त मर्ज भएर सम्पदा लघुवित्त वित्तीय संस्था बनेको थियो ।
पौडेल सबैको लघुवित्तमा सिइओ हुँदा नै बाँकेस्थित रिमझिम शाखाकी शाखा प्रमुख सरिता तामाङ र कर्मचारी गोमा खदालले ४६ जनालाई ४७ लाख ५० हजार रुपैयाँ कर्जा दिएका थिए । यसरी कर्जा दिइएकामध्ये अधिकांशको नागरिकता नक्कली रहेको हल्ला त्यसबेला नै चलेको थियो । तर, संस्थाको बदनाम हुने र आफूसमेत फस्न सक्ने भन्दै तत्कालीन सिइओ केशव कुमार पौडेलले सो घटना लुकाएका थिए ।
घटना क्रम बाहिरिँदा पनि आफु सीइओ भएकाले आफु पनि फस्ने डरले उनले सो घटना लुकाएका थिए । ‘यो विषय त्यसबेला नै बाहिरिएको थियो । तर संस्थाको बदनाम हुने र आफैँ पनि फस्न सक्ने भन्दै सिइओ सरले नै घटना बाहिर ल्याउनुभएन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने, ‘सुरुमा घटना भित्रभित्रै मिलाउन खोजिएको थियो तर नमिल्ने भएपछि घटना नै लुकाइयो ।’
ती कर्मचारीका अनुसार सबैको लघुवित्त र साधना लघुवित्तबीच मर्जरको तयारी हुँदा पनि संस्थाभित्र सो विषय उठेको थियो । तर, सिइओ पौडेलले नै ‘मिलाउँला’ भनेपछि छलफल रोकिएको थियो ।
मर्जरपछि बनेको सम्पदा लघुवित्तको सिइओमा २०८१ साउन १ गते पौडेल नै सिइओ नियुक्त भएका थिए । तर, मर्जरपछि रिमझिम शाखाबाट प्रवाह भएको कर्जामाथि प्रश्न उठेपछि उनले सरिता तामाङ र गोमा खदाललाई राजीनामा दिन दबाब दिएर आफ्नै कार्यकालमा राजीनामा स्वीकृत गराएका थिए ।
कर्जा दिइएका ४६ जना ऋणीको नागरिकता नै नक्कली भन्ने शंका लागेपछि लघुवित्तले आन्तरिक छानविनका क्रममा नागरिकता प्रमाणिकरणका लागि २०८१ कार्तिक ३० गते जिल्ला प्रशासन कार्यालय, बाँकेलाई पत्राचार गरेको थियो । त्यसपछि प्रशासन कार्यालयले ४६ जनामध्ये ३ जना सदस्य र ३ जना साक्षी गरी कुल ६ जनाको मात्र नागरिकता सक्कली भएको र बाँकी ४३ जनाको नागरिकता नक्कली भएको पुष्टि गरेको थियो ।
यसरी नक्कली नागरिकताका आधारमा प्रवाह गरिएको ४७ लाख ५० हजार ऋणमध्ये केही ऋण उठिकेको छ भने बाँकी ऋण उठ्नै नसक्ने स्थितिमा छ ।
तत्कालीन सिइओ भन्छन्– ‘केही बोल्दिन’
नक्कली नागरिकता राखेर प्रवाह गरिएको ३३ लाख ५८ हजार ९ सय ८६ रुपैयाँ ४७ पैसा नउठ्ने देखिएपछि नयाँ नेतृत्व (सम्पदा लघुवित्त वित्तीय संस्था) ले सो तर्फ चासो देखाएको छ ।
तर, तत्कालीन सिइओ पौडेल भने सो विषयमा बोल्न चाहँदैनन् । बरु उनले उक्त संस्था आफूले छोडिसकेको भन्दै सो विषयमा आफू नबोल्ने प्रतिक्रिया दिएका छन् । ‘यो सम्बन्धित शाखाको कुरा हो । मैले संस्था छोडिसकेँ । यसमा मेरो कुनै भूमिका छैन । म यसबारेमा केही बोल्न चाहन्न ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै पौडेलले भने ।
उनी हाल अर्को विवादमा मुछिईरहने नेरुडे मिर्मिरे लघुवित्तमा सीइओ बनेका छन् । त्यहाँ सीइओ हुने बित्तिकै गरेका निर्णयहरु थप विवादमा आएपछि अहिले कर्मचारीहरु आन्दोलनमा छन् ।
यता अहिले सम्पदा लघुवित्तमा लक्ष्मण पौडेल सीइओ छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्