काठमाडौँ । अमेरिका बेलायत गएर बस्ने सपना लाखौं नेपालीको हुन्छ, तर अधिकांशको लागि यो सपना कहिल्यै पूरा हुन पाउँदैन । ट्रम्प दोस्रो पटक सत्तामा आउँदा अध्यागमनसँग सम्बन्धित चुनौती झन कडा पारिएको छ । तैपनि नेपाल छोडेर विदेश अमेरिका, क्यानाडा वा अष्ट्रेलिया गएका मानिस किन फर्किन चाहँदैनन् ?
आखिर विदेश गएका नेपालीको लागि नेपाल फर्किन यति कठिन किन हुन्छ ?
१. तलबको असमानता: विदेशमा तलबको फरक धेरै ठूलो छ । नेपालमा एउटा फ्रेशरले २५ देखि ४० हजार रुपैयाँ पाउँछन् त्यहिँ अमेरिकामा उबर चलायो भने ३ देखि ४ लाख रुपैयाँ महिनाको तलब पाउँछन् । ओवरटाइम जोड्ने हो भने यो राशि ५ लाखसम्म पुग्ने देखिन्छ । नेपालमा मानिस जहाँ २०-२५ वर्षमा घर खरिद गर्छन् त्यहिँ अमेरिकामा यो सपना ४-५ वर्षमै पूरा हुन सक्छ ।
२. पर्यावरणीय स्वच्छता: सफा स्वच्छ हावा, पानी र भोजन त्यहाँ लग्जरीको विषय नभएर आधारभूत आवश्यकता मानिन्छ । न त खानामा मिसावटको डर, न त पानी फिल्टर गर्ने सधैँको तनाव र न त विषालु धुवाँ युक्त हावा !
अमेरिकाबाट केवल ५०० डलर नेपालमा पठाइदिए एउटा पूरा परिवार ‘किङ्ग मोड’ मा आउँछ । फ्रीज खरिद गर्नु छ, फि जम्मा गर्नु छ, औषधि खरिद गर्नु छ, सबै सजिलै सम्भव हुन्छ । जवकी नेपालमा ४० हजार रुपैयाँ आम्दानी गर्ने व्यक्ति स्वयंलाई कठिन हुन्छ भने घरखर्च त धौ धौ नै पर्छ ।
अमेरिकामा मानिस सपना देखाउने मात्रै होइन, त्यसलाई पूरा गर्न पनि सिकाउँछन् । व्यावहारिक कुरा यो हो कि – पाँच सात वर्षको लागि जाउ, कमाउ, सिक, विश्वलाई हेर । यदि मन लागे फिर्ता आउनु, नलागे ढोका खुला छ ।
यद्यपि, पैसा नै सबथोक होइन । घरपरिवार, चाडपर्व, देशको माटोको सुवास जस्ता अनुभव कुनै पनि विदेशी कमाइभन्दा ठूलो हुन्न । नेपालको सामुदायिक आबद्धता, सांस्कृतिक आफ्नोपन र परिवारको साथ यी यस्ता चीज हुन् जसको भरपाई विश्वको कुनै पनि सुविधाले गर्न सक्दैन ।
एक वर्षमा ४८४ नेपाली अमेरिकाबाट निष्कासित
अध्यागमनसम्बन्धी नियन्त्रण र नियमन गर्ने अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइस) ले आप्रवासीलाई नियन्त्रण गर्ने, निष्कासित गर्ने र कानूनी दायरामा ल्याउने ट्रम्प सरकारको योजनालाई कडाईका साथ लागू गर्दै सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म एक वर्षमा कागजातविहीन भएर गैरकानूनी रुपमा बसोवास गर्दै आएका ४ सय ८४ नेपालीलाई चार्टर विमानबाट कतार र भारत हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको जिम्मा लगाएको छ । जसमध्ये ४ सय २० पुरुष र ६४ महिला छन् ।
सन् २०२५ मा अमेरिकास्थित नेपाली राजदूतावासले कुल ४ सय ७ वटा ट्राभल डकुमेण्ट जारी गरेकोमा आइसको अनुरोधमा मात्रै ३ सय ९४ वटा ट्राभल डकुमेण्ट जारी गरेको थियो । जो संग राहदानी हुँदैन वा राहदानीको म्याद सकिएपछि स्वदेश फर्कनलाई ट्राभल डकुमेण्ट जारी गरिन्छ । प्रायः गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका जो निष्कासित हुने अवस्थामा छन् उनीहरुको राहदानी नहुने भएकोले दूतावासले ट्राभल डकुमेण्ट जारी गर्ने गर्छ । तर ट्राभल डकुमेण्ट जारी गरिएका सबै निष्कासितमा पर्ने हुँदैन ।
अमेरिका जानलाई धरौटी राख्नुपर्ने
अमेरिकी विदेश मन्त्रालयले २०८२ माघ ७ (जनवरी २१, सन् २०२६) देखि लागू हुने गरी अमेरिकाको बिजनेस (बी१) र भिजिट (बी२) भिसा प्राप्त गर्न नेपालीहरुले अब भिसा अन्तरवार्ताको क्रममा अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइसीई) को फाराम भरेर दूतावासका अधिकारीले तोकेको ५ हजार डलर, १० हजार डलर वा १५ हजार डलरमध्ये कुनै एउटा रकम धरौटी राख्नु पर्ने भएको छ । तर, धरौटी तिर्दैमा भिसा प्राप्त गर्ने सुनिश्चितता भने हुने छैन । यि दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ६ महिनासम्म बस्न पाउने छन् । रकम भिसा प्राप्त गर्ने व्यक्तिले नै तिर्नु पर्नेछ । अन्य तेस्रो पक्षको वेबसाइटबाट रकम तिर्न पाइने छैन ।
धरौटी रकम फिर्ता र जफतको शर्त
– अमेरिका प्रवेश गर्दा नै यस्ता भिसा प्राप्त गर्ने व्यक्तिको फर्कने दिन रेकर्ड गराउनु पर्नेछ । अमेरिका छाडेपछि भने धरौटी रकम फिर्ता हुनेछ ।
– कुनै व्यक्ति भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिका बसेको अवस्थामा यस्तो धरौटीबाट रकम काटिनेछ ।
– कोही व्यक्तिले भिसा प्राप्त गरे पनि यात्रा नगरेको अवस्थामा पैसा फिर्ता पाउनेछ ।
– अमेरिकाको भिसाको लागि निवेदन दिएको र विमानस्थलबाट फर्काइएको अवस्थामा पनि पैसा फिर्ता पाउने छन् ।
– अमेरिकी काउन्सिलर अफिसरको निर्देशनबिना कसैले धरौटी बुझाए त्यस्तो धरौटी फिर्ता हुने छैन ।
– त्यस्तै बिजनेस वा ट्राभल भिसामा गएका व्यक्तिले अन्य प्रकारको भिसा आवेदन दिए वा शरणार्थी बन्न गए धरौटी जफत हुनेछ ।
साथै अमेरिका जाने नेपालीले अब तोकिएको निम्न तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र प्रवेश गर्न र बाहिरिन पाउने छन् । बोस्टनको बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, र वाशिङ्गटनको डुलिस अन्तर्राष्ट्रिय विमानस्थल ।
उपरोक्त तीनवटा विमानस्थलबाट मात्र अब यस्ता भिसा प्राप्त गर्ने व्यक्ति अमेरिका प्रवेश गर्न पाउने छन् । अन्य विमानस्थलबाट यात्रा गर्ने व्यक्तिलाई अमेरिकाले नियन्त्रणमा लिन सक्नेछ ।
अमेरिकी विमानस्थलमा बढ्दो सास्ती
अमेरिका यात्रा गर्ने नेपालीसमेतका विदेशी नागरिकको सास्तीमा लगातार वृद्धि भइहेको छ । यात्रुसँग बैध भिसा र अन्य दस्तावेज हुँदाहुँदै अमेरिकी विमानस्थलमा लामो सोधपुछ गरिन्छ, पटक–पटक अतिरिक्त जाँच प्रक्रिया पार गर्नुपर्छ, धेरैचोटी स्क्रिनिङ्ग गरिन्छ । विमानस्थलमा घण्टौंसम्म रोकेर राखी केहीलाई त अमेरिका छिर्न मनाही गरिन्छ । त्यसैले अमेरिका यात्रा अब टाउको दुखाई भएकोले आक्रोस पनि बढ्दो छ ।
यसका अतिरिक्त अमेरिकी डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) ले ल्याउन लागेको अध्यागमनसँग सम्बन्धित प्रस्तावित योजना अन्तर्गत् विदेशी यात्रुको बायोमेट्रिक जाँचमा केवल फिङ्गरप्रिण्ट र फोटो मात्रै होइन, भ्वाइसप्रिण्ट, आईरिस स्क्यान, डीएनए, अनुहारको तस्वीर र अन्य संवेदनशील डेटा पनि संकलन गरिनेछ । अर्थात् विमानस्थलमा अब घण्टौं व्यतित गर्नु पर्नेछ ।
नयाँ नियम अनुसार अन्तराष्ट्रिय छात्र, विदेशी श्रमिक र पर्यटक सबैलाई अमेरिकामा आउँदा र फर्किंदाको बखत फोटो खिचाउनु अनिवार्य हुनेछ । ट्रम्प प्रशासनका अनुसार राष्ट्रिय सुरक्षालाई बलियो पार्न र अध्यागमन प्रणालीमा हुने गरेको विश्वासघात (धोका) रोक्नका लागि यो पाइला चालिएको हो ।
यद्यपि यस्ता यात्रुको लागि DHS ले Travel Redress Enquiry Program (DHS Trip) को व्यवस्था गरेको छ जस अन्तर्गत् पटक पटक सेकेण्डरी स्क्रिनिङ्ग सामना गर्नुपर्ने यात्रुले यस मार्फत् आफ्नो गुनासो गरी DHS प्रणालीमा मौजूद उसको गलत जानकारीलाई सुधार्न अनुरोध गर्न सक्छन् । भिसा आवेदनको दौरान नै यात्रा मिति, स्थान, राहदानी र सम्बन्धित घटनाको सम्पूर्ण सत्यतथ्य जानकारी दिए यात्रुले धेरै सास्ती व्यहोर्नु पर्दैन ।
२०२६ देखि बेलायतमा ETA बेगर विमानमा ‘नो इन्ट्री’
बेलायतले अमेरिका, क्यानाडा, फ्रान्स जस्ता ८५ देशको भिसामुक्त यात्रुलाई बेलायतमा पाइला राख्नका लागि २५ फरवरी, २०२६ देखि डिजिटल परमिट – इलेक्ट्रोनिक यात्रा प्राधिकरण (ETA) लिनुपर्ने छ । यो बेगर अब बेलायतमा प्रवेश पाइने छैन । बेलायत सरकारले यो परिवर्तन आफ्नो सीमालाई अझ बढी ‘स्मार्ट’ र ‘सुरक्षित’ बनाउनका लागि गरेको छ । यसबाट खतरनाक मानिसलाई बेलायत प्रवेश गर्न रोक्न सकिने तथा लाखौं असल यात्रुको यात्रा झन सजिलो हुने छ ।
अब यात्रुले बेलायत जाने विमानमा बस्नु अघि नै यो डिजिटल परमिट लिइ सक्नुपर्ने छ । यस अघि वीजामुक्त यात्रु सोझै उडान भर्न सक्थे तर अब वायुसेवा कम्पनीले यो सुनिश्चित गर्नुपर्छ कि यात्रुसँग वैध ईटीए छ । यदि यात्रुसँग ईटीए छैन भने वायुसेवा कम्पनीले विमानभित्र प्रवेश गर्न दिने छैन । यसको अर्थ हो, यात्रुले बेलायतको सीमामा पुग्नुअघि नै यात्रुलाई यात्राबाट वञ्चित गरिने छ ।
यद्यपि यो नयाँ नियम सबैलाई होइन । बेलायती र आयरिश नागरिकले यस नियममा पूर्ण छुट पाएका छन् । यदि यात्रुसँग दोहोरो ब्रिटिश नागरिकता छ भने यात्राको कठिनाईबाट बच्नका लागि हमेशा आफ्नो बेलायती राहदानी प्रयोग गर्ने सल्लाह दिइन्छ ।
परमिट लिने प्रक्रिया अनलाइन र सरल छ । यात्रुले आधिकारिक यूके ईटीए एपको प्रयोग गर्नु पर्नेछ र आवश्यक दस्तावेज अपलोड गर्नु पर्नेछ । यसको लागी यात्रुले १६ स्टर्लिङ्ग पाउण्ड शुल्क तिर्नु पर्नेछ ।
-अमर कुमार मल्लिक (लेखक अधिवक्ता हुन् )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्