Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको कारवाहीमा नेरुडे मिर्मिरे, लाभांश वितरणमा रोक, अध्यक्ष र सिइओको तलव भत्ता बढाउन नपाइने !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्र बैंकले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई कारवाही गरिएको छ । प्राथमिक पूँजी तथा कुल पूँजी कोष अनुपात पूरा गर्न नसकेपछि राष्ट्र बैंकले नेरुडे मिर्मिरेलाई शीघ्र सुधारात्मक कारवाही गरेको हो । 

शीघ्र सुधारात्मक कारवाही अन्तर्गत लघुवित्तलाई तत्काल नगद तथा बोनस सेयर वितरण रोक लगाइएको राष्ट्र बैंक स्रोतले बताएको छ  ।

राष्ट्र बैंक स्रोतका अनुसार लाभांश वितरणमा रोकसँगै लघुवित्तलाई नयाँ शाखा विस्तार गर्नसमेत रोक लगाइएको छ । योसँगै राष्ट्र बैंकले लघुवित्तका सञ्चालक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को तलब भत्ता र अन्य कुनै पनि सुविधा वृद्धिमा पनि रोक लगाएको छ ।

यसो त नेरुडे मिर्मिरे लघुवित्त त्यही संस्था हो, जहाँ महिनौँदेखि कर्मचारीहरु आन्दोलित छन् । सरुवा, बढुवा, सुविधा तथा व्यवस्थापनको हेपाह प्रवृत्तिविरुद्ध महिनौँअघिदेखि सुरु भएको आन्दोलन अहिले पनि साम्य भएको छैन । यसरी महिनौँसम्म कर्मचारी कामै छोडेर आन्दोलित हुँदा तथा आन्तरिक किचलोकै कारण संस्था कमजोर भएपछि नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था झनै कमजोर भएको दाबी गरिएको छ । 

हाल शीघ्र सुधारात्मक कारवाही गरेको राष्ट्र बैंकले निश्चित समयभित्र न्यूनतम पूँजी कोष अनुपात नपुर्याए, जोखिम व्यवस्थापन प्रभावकारी नबनाए र संस्थागत सुशासन कायम नगरे थप कडा कदम चाल्न राष्ट्र बैंक बाध्य हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK