Skip to content
LAXMI SUNRISE BANK

एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादल

अर्थ सरोकार

काठमाडौँ । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

दलको नेताका लागि दाबी गरिरहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावकसमेत नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । दलको नेता चयन भएपछि बैठकका निर्णय सार्वजनिक गर्दै बादलले भने, ‘आजको बैठकले संसदीय दलको नेता सर्वसम्मतिले चयन गरेको छ । दल नेताको रूपमा मलाई चयन गरिएको छ । निकट भविष्यमा दुवै सदनका माननीय सदस्यहरू राष्ट्रिय सभा र प्रतिनिधिसभाका माननीयज्यूहरूलाई अभिमुखीकरण कार्यक्रम यही २१ गते गर्ने तय गरिएको छ ।’

उनले बैठकले केपी शर्मा ओली र रमेश लेखकको गैरकानुनी तथा पूर्वाग्रहपूर्ण गिरफ्तारीको विरोधमा प्रस्ताव पारित गरेको पनि जानकारी दिए । बादलले भोलि हुने प्रतिनिधिसभा तथा आगामी दिनमा हुने प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरूमा आफ्ना एजेन्डा सशक्त रूपमा उठाउने संकल्प गरिएको बताए । ‘हामीले घोषणापत्रमा गरेका प्रतिबद्धताहरूलाई संसदमा उठाउनेछौं र प्रतिपक्षको भूमिका निर्वाह गर्दै सजग पहरेदारका रूपमा काम गर्नेछौं,’ उनले भने ।

यसैबीच, नेता चयन प्रक्रियाबारे प्रतिक्रिया दिँदै सुहाङ नेम्वाङले आफूले अपेक्षा गरेअनुसार परिणाम नआएको बताए । ‘मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य छ भन्ने खालको नतिजा आएको छ,’ उनले सञ्चारकर्मीहरूसँग भने ।

उनले संसदमा प्रवेश गर्दा सत्ता–प्रतिपक्षको सोचभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘संसद भित्र जाने बेलामा कोही पनि सत्तापक्ष, प्रतिपक्ष भनेर आफूलाई अगाडि नै सोचेर हिड्ने हो भने जनता र देशको हितमा कहिले पनि राम्रो हुँदैन भनेर हामीले बुझ्नुपर्छ । हामीले सशक्त ढंगले सरकारले गरेका राम्रा कामहरुलाई हामीले सहयोग पुर्याउनुपर्छ । सरकराले गरेका कमीकमजोरीलाई हामीले औंल्याउँदै खबरदारीका साथमा रचनात्मक हिसावले सल्लाह सुझाव सहयोग पुर्याउनुपर्छ ।’

सुहाङले अब नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भन्दै दलको नेतामा दाबी गरेका थिए । प्रतिनिधिसभामा एमालेका २५ सांसद छन् ।

 

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK