Skip to content
LAXMI SUNRISE BANK

‘इन्साइडर ट्रेडिङ’मा मुछिए व्यवसायी दीपक भट्ट, ब्रोकरसँगको साँठगाँठमा झण्डै ४ अर्बको उधारो कारोबार !

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दीपक भट्ट लगायतले सेयर बजारमा झण्डै ४ अर्ब रुपैयाँ बराबरको उधारो कारोबार गरेको खुलासा भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गरेको अनुसन्धानबाट भट्टसहित व्यापारिक घरानाका व्यक्तिहरुले भृकुटी स्टक ब्रोकर (ब्रोकर नं. ५५) बाट झण्डै ४ अर्ब रुपैयाँ बराबरको उधारो कारोबार गरेको खुलेको हो ।

बोर्डका अनुसार दीपक भट्ट लगायतले ब्रोकर नं. ५५ सँगको मिलेमतोमा सोहि ब्रोकरबाट ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर नियमविपरीत उधारोमा खरिद गरेको भेटिएको छ । 

जसमध्ये सबैभन्दा धेरै उधारो व्यवसायी दीपक भट्टको नाममा २ अर्ब ७३ करोड ३३ लाख १५ हजार रुपैयाँ रहेको बोर्डको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, भट्टका साझेदार राजबहादुर शाहले पनि ८९ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी देखिएको छ ।

यता सुबी अग्रवालले पनि ६२ करोड ८९ लाख रुपैयाँ र ऋषिराज मोरले २३ करोड १ लाख रुपैयाँ ब्रोकर नं. ५५ लाई तिर्न बाँकी छ । अर्कोतर्फ हिमालय इन्भेष्टमेन्ट बैंकर लिमिटेडका नाममा पनि २२ लाख रुपैयाँ उधारो कारोबार भएको बोर्डको प्रतिवेदनमा उल्लेख छ । 

अर्कोतर्फ बोर्डले व्यवसायी दीपक भट्टले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको समेत खुलासा गरेको छ । भट्ट लगायत सुलभ अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर र शेखर गोल्छाको समेत उक्त कार्यमा संलग्नता देखिएको बोर्डको अनुसन्धानले देखाएको छ । 

बोर्डको अनुसन्धान प्रतिवेदन अनुसार भट्ट लगायतले नेपाल रि-इन्स्योरेन्सको मूल्य सेयर खरिद-बिक्री नै नगरी १ हजार ४ सय ६१ बाट १ हजार ८ सय ८६ सम्म पुर्याएका थिए । अर्कोतर्फ हिमालयन रि-इन्स्योरेन्सबाट १ हजार ८० रुपैयाँमा खरिद गरेको ऋणपत्र भट्टले आफ्नै स्वामित्व रहेका गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफलाई १ हजार १ सय ८५ रुपैयाँमा भिडाएकोसमेत अनुसन्धानबाट खुलेको छ ।

बोर्डले गरेको अनुसन्धानमा भट्ट लगायतले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ र ९८ अनुसार (बजारमा भ्रम सिर्जना गर्ने, कृत्रिम मूल्य बढाउने, लगानीकर्ता झुक्याउने) को कसुर गरेको दाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार चैत १७ गते अनुसन्धान गर्ने निर्णय गरेको बोर्डले जाँचबुझ अधिकृत दिपेश ताम्राकारको नेतृत्वमा समिति जाँचबुझ समिति गठन गरेको थियो । उक्त समितिले गरेको अनुसन्धान प्रतिवेदन बैशाख ३ गते नै बुझाइसकिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK