काठमाडौँ । केही दिन अघि मात्र सिद्धार्थ बैंकले मलाई ठग्यो, मलाई बैंकका मेनेजरहरु मिलेर बर्बाद बनाइयो भन्दै दीपक ओली नाम गरेका व्यक्तिले पत्रकार सम्मेलन गरे । एउटा नागरिक झोलाभरि कागज बोकेर पत्रकार सम्मेलन गरिरहेको देखेपछि हामीले उनका पनि कुरा सुन्यौँ, र बैंकसँग पनि यो के हो भनेर सोध्यौँ । ओलीले त एक झोला फाइल देखाएर भनिरहे- ‘ममाथि अन्याय भयो, मेनेजरहरुले मेरो पैसा खाइदिए, मलाई ऋणको भारी बोकाइदिए । उनी विभिन्न स्टेटमेन्टहरु पनि देखाउँदै’थिए । आफूलाई ठग्ने मेनेजरको फोटो, फोन नम्बर सब देखाउँदै थिए । एउटा आम ऋणीले किन यस्तो गर्छ र ? हामीले यही प्रश्न बैंकलाई सोध्ने प्रयास गर्यौं । बैंकका सूचना अधिकारी प्रसन्न खड्कालाई हामीले एक पटक होइन, दुई पटक होइन, १८ पटक फोन गर्यौं । तर अहँ, यति प्रयास गर्दा त बरु प्रसन्न भएर ढुंगा बोल्थ्यो होला, सिद्धार्थ बैंकका प्रसन्न सर बोलेनन् । त्यसपछि हामीले ओलीले बताएको घटना विवरणसहित कार्यक्रम प्रसारण गर्यौं, र कार्यक्रममार्फत नै भन्यौँ सिद्धार्थ बैंकलाई बदमासी भएको भए कारवाही गर आफ्ना कर्मचारीलाई कि, बैंकका कर्मचारीलाई ठग,चोर, लुटेरा भन्ने ओलीविरुद्ध कानुनी उपचार गर । कि ओली सही छन् कि बैंक । दुवै सहि हुनै सक्दैनन् । छानविन होस्, दूधको दूध पानीको पानी छुट्टियोस् ।
हामीले कार्यक्रम प्रसारण गरेपछि सिद्धार्थ बैंकले एउटा विज्ञप्ति निकालेर भन्यो- ‘दिलिप सिंह ओली हाम्रा क्लाइन्ट पनि होइनन्, निक्षेपकर्ता पनि होइनन् ।’ तिर्नुपर्ने ऋण नतिरेर अनेक निहुँ खोजिरहेको आशयसहितको विज्ञप्ति बैंकले जारी गरेपछि हामीले ओलीलाई फोन गरेर भन्यौँ । ‘के तपाईं हाम्रा प्रश्नहरुको जवाफ दिन सक्नुहुन्छ ? बैंकले तपाईंलाई त ऋणी नै होइन भनेको छ, किन यस्तो आरोप लगाउनुभएको छ ? आरोपका प्रमाणहरु छन् ? बैंकका कर्मचारीको फोटो र नाम राखेर ठग भन्नुभएको छ, त्यो आरोप प्रमाणित भएन भने कानुनी कारवाही भोग्न तयार हुनुहुन्छ ?’ त्यसपछि ओलीले भने- ‘म आउँछु अर्थ सरोकारको कार्यालय, सबै प्रमाण लिएर आउँछु, र मैले भनेका कुरा गलत ठहर भए भने म जेल जान पनि तयार छु ।
कार्यक्रम प्रसारण भएपछि १८ कल गर्दा पनि सम्पर्कमा नआएका प्रसन्न खड्काले पनि अर्थ सरोकारमा फोन गरेर भने, ल्यान्डलाइन बिग्रिएको थियो, त्यसैले सम्पर्क हुन सकेन । अनि भन्ने सूचना अधिकारी, अनि त्यत्रो बैंकमा बिग्रिएको फोन बनाउनुपर्दैन ? हाम्रो प्रश्नमा उनले भने, ’यसपाली यस्तै भयो, आजै नयाँ मोबाइल नम्बर किन्न पठाएको छु, आजबाट मलाई सम्पर्क हुन्छ । नभन्दै त्यहि दिन बैंकको वेव साइटमा नयाँ फोन नम्बर पनि अपडेट भयो ।
अनि हामीले प्रसन्न खड्कालाई सोध्यौँ- ‘यो २३ करोड घोटाला प्रकरणको कुरा के हो ?’ उनले आफुहरुले विज्ञप्तिमार्फत आफ्नो धारणा राखिसकेको भन्दै टालटुले जवाफ दिए र ओली आफ्नो ऋणी र निक्षेपकर्ता नरहेको दोहोर्याए । उनको दाबी थियो, बैंकका कर्मचारीको यसमा कुनै पनि दोष छैन । तर, जव ओली अर्थ सरोकारको कार्यालयमा आए, र केही कागज देखाए, त्यसपछि प्रमाणित भयो, बैंकले विज्ञप्ति भनेर भ्रम छरेको रहेछ । घटना लुकाउने नाममा बैंकले केसलाई नै विषयान्तर गरेको रहेछ । दिलिप सिंह ओलीले ठग भनेर दाबी गरेका कर्मचारीको ऋणीसँग अनुचित कारोबार भएको प्रमाणित भएपछि बैंकले २ जनालाई कारवाहीसमेत गरिसकेको रहेछ, र सो जानकारी नेपाल राष्ट्र बैंकमा समेत दिईसकेको छ ।

करिव ३ घण्टा ओलीले प्रमाण भनेका कागजहरु हेरेर, त्यसबारे बैंकिङ विज्ञहरुलाई सोधेर, हामीले केही बुँदागत निष्कर्ष निकालेका छौँ, जहाँ बैंक कर्मचारीका कतिपय बदमासी प्रष्ट देखिएका छन् भने कतै ऋणीका कमजोरी देखिएका छन् । आउनुहोस् बुँदागत रुपमा यो केस के हो भन्ने कुरा केलाउँ ।
१. पहिलो कुरा त पत्रकार सम्मेलन गर्ने दिलिप सिंह ओली हाम्रो ग्राहक र ऋणी केही होइनन् भन्ने बैंकको दाबी तिर जाउँ । बैंकले भनेजस्तै ओली बैंकका मुख्य ऋणी र बैंकको निक्षेपकर्ता होइन रहेछन् । तर, बैंकले लुकाएको सत्य के रहेछ भने दिलिप सिंह ओली बैंकले ऋण दिएको फाइलका जमानीकर्ता रहेछन् । बैंकले ऋण दिएका ८ कम्पनीमा दिलिप सिंह ओली पिजी बसेका रहेछन् । ओली खाध्यान्नको व्यापार गर्दा रहेछन् र सिद्धार्थ बैंकले उनको परिवारका विभिन्न सदस्यका नाममा भएका विभिन्न कम्पनीलाई ऋण दिएको रहेछ । ती ऋणहरुमा ओली पिजी छन् । र यही ऋणमा आफुहरुलाई फसाइएको भन्दै परिवारभित्रको अलि बोल्ने मान्छे दिलिप सिंह ओली मिडियामा आएका रहेछन् ।
बैंकले विज्ञप्तिमार्फत दिलिप सिंह ओली हामीसँग सम्बन्धित कोहि पनि होइनन् भन्ने आशय व्यक्त गरे पनि बैंकले विभिन्न पत्रमार्फत ओलीलाई सम्पर्क गरेको देखिएको छ । उदाहरणका लागि यो पत्र हेर्नुहोस्, जहाँ बैंकले दिलिप सिंह ओलीलाई पनि पत्रको बोदार्थ पठाएको छ ।

अव प्रष्ट भयो, बैंकले यहाँ दिलिप सिंह ओली सम्बन्धित मान्छे नै होइनन् भनेर विषयान्तर गर्न खोजेको रहेछ, घटना मोड्न खोजेको रहेछ । दिलिप सिंह ओली यो सम्बन्धित ऋणका पिजी पनि हुन्, ऋणी उनकै भाइ, बुहारी, श्रीमतीहरु हुन् । र उनले परिवारलाई परेको मर्का सुनाएका हुन् । यहाँ ओली कोहि पनि होइनन् भनेर विषयान्तर गर्ने बैंकको बदनियत देखिने ठाउँ छ ।
२. बैंकले विज्ञप्तिमार्फत बैंकसँग केही गुनासो भए राष्ट्र बैंकमार्फत आउनुपर्ने भनेर पत्रकार सम्मेलन गरेको विषयमा चित्त नबुझाएको देखिन्छ । तर ऋणी दिलिप सिंह ओली यो केस लिएर राष्ट्र बैंकसमेत गएको, राष्ट्र बैंकले सिद्धार्थ बैंकलाई यो विषयमा के कसो भएको हो भनी सोधेको र बैंकले ऋणीसँग अनुचित र गैरकानुनी कारोबार गर्ने आफ्ना कर्मचारीहरुलाई कारवाहीसमेत गरेको स्वीकार गरेर राष्ट्र बैंकलाई पत्र पठाएकोसमेत पाइएको छ । तर बैंकले यो पत्र के बाहिर जाला र सोचेर होला, विज्ञप्तिमा यो कुरा लुकाएको छ । जवकि पत्रमा प्रष्टसँग बैंकले आफ्ना कर्मचारीले ऋणीसँग गैरकानुनी कारोबार गरेको स्वीकार गरेको छ ।

३. बैंकले विज्ञप्तिमार्फत दिलिप सिंह ओलीले आफ्ना उच्च अधिकारीहरुलाई ठग, चोर भनेको विषयमा पनि चित्त दुखाएको छ । तर ओली भनिरहेका छन्, उनीहरु ठग नै हुन्, ठग प्रमाणित भएनन् र म गलत प्रमाणित भएँ भने उनीहरुलाई ठग भनेकोमा म जेल जान तयार छु ।
दिलिप सिंह ओलीको यतिको आत्मविश्वास हेरेपछि पक्कै भन्न सकिन्छ- ‘सिद्धार्थ बैंकले यो केस धेरै हदसम्म लुकाउन खोजेको रहेछ ।’ हो, २००० कर्मचारीमा कोही न कोही फटाहा भइहाल्छन् । एकाध कर्मचारी फटाहा भयो भन्दैमा सिद्धार्थ बैंकका सबै कर्मचारी फटाहा भन्न मिल्दैन, बैंक नै पुरै बदमास भन्न पनि मिल्दैन । तर गलत गर्ने कर्मचारीको विवरणसमेत लुकाएर सिद्धार्थ बैंकले पनि यहाँनेर सही गरेन ।
यो त भयो विज्ञप्तिका कुरा, कसैको हस्ताक्षर, छाप केही नभएको विज्ञप्ति, त्यो पनि झुट बोलिएको, विषयान्तर गरिएको कागजबारे अव धेरै बोल्नु परेन होला । त्यसैले अव मूलकुरो तिर लागौँ ।
सुरुमा बुझौँ घटना के हो ?
दिलिप सिंह ओलीको परिवार खाद्यान्नको व्यापार गर्दो रहेछ । उनीहरुको विभिन्न नामका सप्लाई फर्म छन् । कहिल्यै बैंकबाट ऋण नलिएका ओली सिद्धार्थ बैंकमा ५० लाख रुपैयाँ ऋण लिन पुगे । बैंकका कर्मचारीलाई पनि टार्गेटको प्रेसर हुँदो हो, के को ५० लाख लैजानुस् करोड करोड भनेर ऋण दिए । कहिल्यै बैंकसँग ऋणको कारोबार नगरेका ओलीले पनि ओहो बैंकमा त पैसा लिन यस्तो सजिलो पो हुँदो रहेछ भने ठाने र चलाएको पैसाको मात्र ब्याज तिर्ने हो भनेपछि बैंकका कर्मचारीले भनेको ठाउँमा सही गरिदिए । ऋणको प्रक्रियाका लागि चाहिन्छ भनेर बैंकका कर्मचारीले कम्पनीहरुका छाप मागे, जुन दिलिपले दिए । टर्नओभर अलि बढी देखाए सजिलो हुन्छ भने र केही चेकमा हस्ताक्षर गर्न लगाए । सजिलै हुन्छ, ऋण पनि आउँछ भनेर दिलिपले पनि मेनेजरले भने अनुसार नै गरे । बैंक मेनेजर र ऋणीबीच दोस्ती बढ्यो । यसरी दोस्ती बढ्यो कि, उनीहरु अव नजिकका साथी भए । दिलिप व्यापारी, बैंकका कर्मचारी ऋण दिने व्यक्ति ।

टर्न ओभर बढाए ऋण लिन थप सहज हुन्छ भन्ने लजिक दिएर बैंकका कर्मचारीले दिलिपलाई विश्वास दिलाए । दिलिप पनि विश्वासमा परे । तर ६ महिनापछि अलि शंका लागेपछि दिलिपले खोतलखातल गरे । करोडौँको ऋणमा कागज गरिसकिएको छ, तर पैसा चलाउन नपाएपछि उनले यस विषयमा सोधी खोजी गरे । अलि बढी नै सोधी खोजी गरेपछि बैंकका कर्मचारीले दिलिप सिंहलाई फकाउन बैंकको वार्षिकोत्सवमा केकसमेत काट्न लगाए । जबकि बाहिरी मान्छेलाई यसरी बैंकको आन्तरिक कार्यक्रममा सहभागी गराइन्न । एक दुई दिन फक्किए पनि, दिलिपको मनमा शंकाको चिसो पसिसकेको थियो । त्यसपछि उनले थप खोतलखातल गरे । तर, यतिबेलासम्म धेरै ढिलो भईसकेको थियो । दिलिपका परिवारका नाममा रहेका विभिन्न कम्पनीका नाममा ऋण लिएर, सो रकम अन्त ट्रान्सफर भईसकेको थियो । ओलीलाई ऋणको भारी बोकाएर बैंकका कर्मचारीले बिग्रिएका अरु फाइल सल्टाईसकेका थिए । यो क्रममा बैंकका कर्मचारीले ऋणीको हस्ताक्षर आफैं गर्ने, डिजिटल रुपमा स्क्यान गरेर पेमेन्ट अर्डर बनाउने, ऋणीलाई थाहा नै नदिई सो रकम अन्त ट्रान्सफर गर्ने, यतिसम्मकि बैंकका कर्मचारीकै खातामा समेत ऋणीको रकम राख्ने, बैंकका कर्मचारीका आफन्तसमेतको खातामा सो रकम ट्रान्सफर गर्ने काम बहीसकेको थियो । जव दिलिप सिंह ओलीले सबै कुरा थाहा पाए, उनीसँग अव कराउनु, चिच्याउनु बाहेक केही विकल्प नै थिएन । ऋण लिएको होइन भनौं भने, कागजमा ऋण देखिन्छ । आफुले गर्दै नगरेको सहि, नक्कली गरेर पैसा बैंकका कर्मचारीले चलाईदिए । अहिले टाउकोमा करोडौंको ऋणको भारी छ, खातामा केही हजार पनि पैसा छैन ।
अव यहाँ बैंकको बदमासी कहाँ कहाँ भयो, त्यो पनि बुझौँ ।
१. सबैभन्दा बदमासी ऋणी र बैंकका कर्मचारीबीच कारोबार गरेर देखिएको छ । कुनै पनि ऋणीको खाताबाट बैंकका कर्मचारीको खातामा पैसा जानु पूर्णरुपमा गैरकानुनी काम हो । र यो गैरकानुनी काम सिद्धार्थ बैंकका कर्मचारीले गरेका छन् । स्वयम् बैंकलेसमेत कर्मचारीको यो बदमासी स्वीकार गरी ती कर्मचारीहरुलाई निलम्बन गरिसकेको छ ।

२. ऋणीको हस्ताक्षर स्क्यान गरी पेमेन्ट अर्डर बनाइएको छ । एक पटक यो डकुमेन्टमा स्क्यान गरेर मिलाइएको यो हस्ताक्षरको अंश हेर्नुहोस् त । झट्ट हेर्दा पनि नक्कली जस्तो देखिने यस्तो कागजका भरमा पैसा ट्रान्सफर गरिएको छ । कतिपय पेमेन्ट अर्डरमा त अमाउन्ट रकम अक्षर र अंकमासमेत मिलेको छैन, तर त्यस्तो हकमा पनि पेमेन्ट भएको देखिन्छ ।

३. थुप्रै चेकहरुमा ऋणीलाई रकम भर्न लगाइएको छ, तर रकम पाउनेको नाम कर्मचारीले फरक अक्षरमा भरेका छन् । कुनै पनि कम्पनीले रकम पाउन कि सापट हुनुपर्छ, कि सेल्सवापतको रकम हुनुपर्छ । तर भकाभक आफुले चिन्दै नचिनेका बैंक खातामा रकम गएका छन् । र ती कम्पनीको नाम स्वयम् कर्मचारीले भरेको तथ्य उनीहरुको अक्षरबाट पनि प्रष्ट हुन्छ । अहिले बैंकका ती कर्मचारीहरु सम्पर्क बाहिर छन् । हामीले सम्पर्क गर्न खोज्दा पनि उनीहरु सम्पर्कमा आएनन् । दिलिप सिंह ओलीको दाबी छ- ‘उनीहरु भारत भागीसके ।’

अव ऋणी दिलिप सिंह ओलीको कमजोरी कहाँ कहाँ भयो भन्ने कुरा पनि हेरौं ।
१. ऋण सक्ने मात्र लिनुपर्छ । ऋण लिने भनेको चानचुने विषय होइन । नबुझी झ्यापझ्याप सही हान्न र अरुलाई ब्ल्यांक चेक दिनु गलत हो । ठगीमा परेको महसुस हुने बित्तिकै तत्काल प्रहरीको सहायता लिनुपथ्र्यो, जुन उनले गरेनन्, कमजोरी भयो ।
२. अव मर्ताको क्या नही कर्ता भनेजस्तो उनी मिडियामा आए । तर यो बीचमा उनले पनि साइबर कानुन, गाली बेइज्जती सम्बन्धि व्यवस्था प्रतिकुल हुनेगरी व्यवहार देखाएका छन् । बैंकका कर्मचारीले विभिन्न मेसेज र कलमा समेत आफ्नो बदमासी स्वीकार गरेका छन् । यसको कानुनी उपचार खोज्नु भन्दा उनले ती सबै कल रेकर्ड गरेका छन्, सबै मेसेज मिडियामै सार्वजनिक गरेका छन् । जुन नेपालको प्रचलित कानुनले गलत भन्छ । अझ ऋणीले त सीइओदेखि कर्मचारीसम्म सबैका फोटो र फोन नम्बर राखेर यी ठग हुन्, चोर हुन् भनेर सार्वजनिक गरेका छन् । केही कर्मचारी बदमास हुन सक्लान्, तर बैंकमाथिको प्रतिष्ठा जोडिएको विषय यति सामान्य रुपमा लिनु कसैले पनि हुँदैन । कर्मचारीले गलत गरे भन्दैमा सीइओलाई जोड्नु सही नहुन सक्छ । उनले सबै सेटिङ्ग प्रदीप पन्तले गरेका हुन् भन्ने आरोप लगाएका छन् । प्रदीपले घुस खाएनन्, वा उनी घुस खाने मान्छे होइनन् भन्ने कुरामा हामीले उनलाई थोरबहुत चिनेका आधारमा उनले घुसै खाएनन होला त भन्दैनौं, तर यो अनुसन्धान अघि ठोकुवा गर्ने विषय हुँदै होइन । अझ लामो समय बैंकिङ गरेका र गाई सीइओ भनेर चिनिने सीइओलाई सिधै ठग करार हुन पक्कै मनासिव हुँदैन । फेरी पनि, अर्को तीतो यथार्थ के चाहिं हो भने लभ गर्ने बेलामा जात हेरिन्न, आन्दोलन गर्ने बेलामा कानुन हेरिन्न भनेजस्तै, पीडा व्यक्त हुँदा को के हो सबै कुरा हेरिन्न । भावनात्मक रुपमा त्यति अन्यथा नभए पनि कानुनी रुपमा ओलीले अरुलाई चोर, फटाहा भन्ने विषयमा ठिक पक्कै गरेनन् ।
समग्रमा भन्दा, दिलिप सिंह ओलीको पूरै परिवार यतिबेला पीडामा छ । केही गलत कर्मचारीले गर्दा उनी झुक्यानमा परेका छन्, उनको बिजोग भएको छ । यसको अनुसन्धान हुनैपर्छ । किनकि सिद्धार्थ बैंक कोही एकाध कर्मचारीको ठगी खाने अखडा होइन, यो त थुप्रै निक्षेपकर्ताको विश्वास जोडिएको र थुप्रै सर्वसाधारण लगानीकर्ताले लगानी गरेको पब्लिक कम्पनी हो । कुरा २३ करोड घोटाला भएको भन्ने विषय छ । २३ करोड त परको कुरा २३ पैसा पनि तलमाथि गर्ने अधिकार कसैलाई छैन । त्यसैले यो विषयमा उचित छानविन जरुरी छ ।
अन्त्यमा, हामी यो पनि जरुर भन्छौँ, एकाध घटनालाई हेरेर बैंक नै चोर हो, फटाहा हो भन्नु हुँदैन । तर बैंकले पनि बैंकलाई पो एउटा घटना भयो त, पीडीतको त पूरै जीवनको सवाल छ भन्ने कुरा बिर्सनु हुँदैन । एउटा गणेश नेपाली मर्दा सरकारमाथि प्रश्न उठेको छ भने एउटा व्यापारी पीडामा पर्दा, मर्नु र बाँच्नुको अवस्थामा पुग्दा बैंक जिम्मेवार हुनैपर्छ । ल्यान्डलाइन बिग्रिएको थियो त्यसैले फोन सम्पर्क भएन भनेर सूचना अधिकारीले केटाकेटी कुरा गरेजस्तो बैंकले केटाकेटी व्यवहार गर्नु हुँदैन । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्