Skip to content
LAXMI SUNRISE BANK

रश्मी प्रकरणमा जोडिएका सानिमा क्यापिटलका सिइओको विवादित विगत, किर्ते प्रकरणमा ‘बालबाल’ जोगिएका थिए

अर्थ सरोकार

काठमाडौँ । रश्मी रिजाल मृत्यु प्रकरणमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकास खनाल जोडिएपछि घटनाले नयाँ मोड लिएको छ । रश्मी मृत फेला पर्नुअघि क्यापिटलका सिइओ खनालको भूमिका शंकास्पद देखिएपछि उनी प्रहरीको अनुसन्धान रडारमा तानिएका छन् । 

सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसरसमेत रहेकी रश्मी गत शनिबार तारकेश्वर नगरपालिका-१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी थिइन् ।

घटनास्थलको सिसिटिभी फुटेज र पोष्टमार्टम रिपोर्टका आधारमा प्रहरीले रश्मीको मृत्यु आत्मदाहका कारण भएको निष्कर्ष निकालेको थियो । तर, प्रहरीले रश्मीले आत्मदाह गर्नुको कारणबारे अनुसन्धान गरिरहेको छ । सोहीबीच रश्मीका परिवारले क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । परिवारले दिएको जाहेरीका आधारमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार शुक्रबार रश्मी कार्यालय नआएको खबर स्वयम् सिइओ खनालले फोन गरेरै जानकारी दिएका थिए । तर, परिवारले रश्मी बिहानै ७ बजे अफिस जान्छु भन्दै गएको  र घरमा नभएको खबर गरेपछि सिइओ खनालसहितको टोली छापामार शैलीमा रश्मीको घरमै पुगेर ल्यापटप र केही कागजात खोजी गरेको थियो । केही नभेटेपछि सो दिन सिइओ खनालसहितको टोली रित्तै फर्किएको थियो । तर, शनिबार बिहानै फेरि सिइओ खनालसहितको टोली रश्मीको घर पुगेर कागजात र ल्यापटप खोजेको पारिवारिक स्रोतले बताएको छ । रश्मी सोही दिन (शनिबार) दिउँसो आफ्नै गाडीमा मृत फेला परेकी थिइन् ।

खनालको विवादित विगत
यसो त रश्मी रिजाल मृत्यु प्रकरणमा अनुसन्धानको घेरामा तानिएका खनालको विगत खासै गतिलो भने देखिँदैन । उनी यसअघि पनि पटक पटक विवादमा तानिएका व्यक्ति हुन् । 

खनाल यसअघि तत्कालीन कुमारी बैंकको किर्ते प्रकरणमा जोडिएका व्यक्ति हुन् । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा लगायतका डकुमेन्ट बनाई भू-माफियाहरुले सो किर्ते कागज देखाएर १९ करोड ऋण लिएको प्रकरणमा खनालको संलग्नता देखिएको थियो । त्यसबेला खनाल कुमारी बैंकमा रिस्क विभाग प्रमुख एवम् बैंकका सहायक प्रबन्धक थिए ।

किर्ते कागज देखाएर प्रवाह गरिएको १९ करोडको फाइलमा उनले हस्ताक्षर गरेको भेटिएको थियो । तर, त्यो बेला उनीविरुद्ध हुनुपर्नेजति अनुसन्धान नै भएन । पर्याप्त अनुसन्धान भएको भए उनी जेल जाने पक्का थियो । त्यसबेला बालबाल जोगिएका खनालको रश्मी मृत्यु प्रकरणमा शंकास्पद भूमिका देखिएको छ । अनुसन्धानमा उनको संलग्नता पुष्टि भए दुरुत्साहनको कसुरमा उनी जेल जानेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK