Skip to content
LAXMI SUNRISE BANK

एनसेलले सुरु गर्यो ‘बिजनेस क्लाउडसुइट’ सेवा, अब नेपालमै डोमेन र वेब होस्टिङ

अर्थ सरोकार

काठमाडौँ । एनसेलले नेपाली व्यवसाय, स्टार्टअप, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनलाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत डोमेन दर्ता, व्यावसायिक वेब होस्टिङ तथा अनलाइन उपस्थिति व्यवस्थापनका सुविधा एउटै प्लेटफर्मबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपालमा डिजिटल व्यवसाय विस्तार भइरहेका बेला स्थानीय रूपमा व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको भन्दै एनसेलले यो सेवा सार्वजनिक गरेको हो । क्लाउडसुइटमार्फत ग्राहकहरूले डोमेन दर्ता, वेबसाइट होस्टिङ, डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनका सुविधा उपयोग गर्न सक्नेछन् ।

एनसेलका अनुसार यस सेवाको विशेषता भनेको वेबसाइट तथा डेटा नेपालभित्रै होस्ट हुने र ग्राहकले नेपाली मुद्रामै भुक्तानी गर्न सक्ने व्यवस्था हो । यसले विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउनुका साथै व्यवसायलाई आफ्ना डिजिटल सम्पत्तिमाथि बढी नियन्त्रण कायम गर्न र नियामकीय आवश्यकताहरू पूरा गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।

कम्पनीले ग्राहकका आवश्यकता अनुसार दुई प्रकारका प्याकेज उपलब्ध गराएको छ । मासिक १,००० रुपैयाँ पर्ने ‘बेसिक’ प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल, एसएसएल सर्टिफिकेट, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश गरिएको छ ।

त्यस्तै, मासिक २,००० रुपैयाँ पर्ने ‘प्रो’ प्याकेजमा बढी स्टोरेज तथा डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेट, स्वचालित ब्याकअप र सुरक्षा सुविधा उपलब्ध गराइएको छ।

एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइटको सुरुवातले नेपाली व्यवसायलाई व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवामा केन्द्रित गरिएको छ, किनभने डिजिटल यात्रा सुरु गर्ने अधिकांश व्यवसायका लागि यी नै आधारभूत आवश्यकता हुन् ।

एनसेलले आगामी दिनमा व्यवसायको डिजिटल रूपान्तरणलाई थप सहज बनाउने उद्देश्यका साथ क्लाउडसुइटमार्फत थप सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK