नामः केदार प्रसाद गौतम
पदः शाखा अधिकृत, कृषि विकास बैंक
अभियोगः बैंकको ३३ करोड रुपैयाँको डिजिटल लुट
कृषि बिकास बैंकमा रहेको ग्राहकको ३३ करोड रुपैयाँ बैंककै कर्मचारीले लुटे भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । एउटा हरर फिल्मको कहानीजस्तो, सत्य घटना । जहाँ कृषि बिकास बैंकमा कार्यरत कर्मचारीले बैंकको सिष्टममा भएको कमजोरीमा खेलेर ३३ करोड रुपैयाँ लुटेर भागे । पैसा लुटेपछि दोश्रो विवाह गरे, महंगा गहनाहरु किने र भारत भागे । भारतमा लुटेको पैसा सक्काए, मोजमस्ती गरे, उडाए । उनी प्रहरी फन्दामा त परे, तर जसरी उनले बैंकको ३३ करोड रुपैयाँ घोटाला गरे, त्यसको फेहरिस्त सुन्ने हो भने आङ नै जिरिङ्ग हुने खालको छ ।
अव बुझौँ, कसरी लुटियो त कृषि विकास बैंकको ३३ करोड ९३ लाख ३९ हजार ८७२ रुपैयाँ ?
घटना २०७२ साल असोजको हो । कृषि विकास बैंकको, स्वयम्भू शाखामा दैनिक कामहरु भइरहेको थियो । ग्राहक आउने, पैसा झिक्ने, राख्ने, जाने भइरहेको थियो । कर्मचारीहरु आआफ्नो काममा व्यस्त थिए । तर यही बीचमा बैंकको एउटा कुनामा बैंकका शाखा अधिकृत केदार प्रसाद गौतम बैंकबाट करोडौँ लुटेर भाग्ने प्लान बनाईरहेका थिए ।
जग्गामा हालेको पैसा फसेको थियो, घरमा श्रीमतीसँग सम्बन्ध बिग्रिदै थियो । पैसाको संकटले हायलकायल भएका थिए केदार । बैंकबाट आउने तलबले घर धान्न मात्र पुगिरहेको थियो । साथीभाइसँग पैसा माग्दा माग्दा अव त पत्याउनेसमेत कोही थिएनन् । ऋणले टाउको थिचिसकेको थियो । त्यसपछि एकैपटक बैंकको ठुलो रकम लुट्ने, सबै साथीभाइको ऋण तिर्ने, र भारत भागेर उतै बस्ने मास्टरप्लान बनाए केदारले । बैंक कसरी लुट्न सकिन्छ भन्ने प्लान उनको दिमागमा आइसकेको थियो ।
बैंकको सिष्टममा अन्य शाखाहरुबाट रेमिट्यान्स आएको भन्दै आफ्ना सहकर्मीहरुको युजर आईडीबाट नक्कली विवरण बनाई त्यसलाई प्रविष्ट गराउने, त्यसपछि आफ्नो आधिकारिक युजर आईडीबाट स्वीकृति दिने । आफ्नो शाखामा ठुलो रकम रेमिट्यान्सको रुपमा जम्मा भइसकेपछि त्यसलाई विभिन्न व्यक्तिका खातामा जम्मा गराउने र सो रकम झिक्ने । यसरी झिकिएको रकममध्ये केही रकम झिक्ने व्यक्तिहरुलाई दिने, र बाँकी आफूले लिनेगरी बैंक लुटको मास्टरप्लान बनाए । बैंकका विभिन्न १७ वटा शाखामा कोर बैंकिङ सिस्टम (सिबिएस) लागू नभएको कारण ती शाखाबाट पैसा आएको देखाउँदा कसैले पनि थाहा नपाउने कुरा थाहा पाएका उनले बैंकको यही कमजोरीमा खेले ।
तर, यो योजना सफल बनाउनका लागि खाता खोलिदिने, र पैसा झिकिदिने मान्छे चाहिएको थियो । यस्ता व्यक्तिहरुको व्यवस्था गरिदिने लुट पार्टनर खोजिरहेका उनको भेट भारतमा नेटवर्किङ व्यवसाय र अन्य संदिग्ध गतिविधिमा संलग्न राजीव थापा भनिने कृष्णहरि थापासँग भयो । उनले आफ्नो मास्टरप्लान सुनाए । थापा पनि राजि भए । त्यसपछि डिल भयो जति रकम लुटिन्छ, त्यसको ३३ प्रतिशत केदारले लिने, ३३ प्रतिशत राजीवले लिने र ३३ प्रतिशत खाता प्रयोग गरेर पैसा झिक्ने, नक्कली खाता खोल्ने र पैसा निकाल्ने बिचौलियाहरुलाई दिने । पैसा लुटिसकेपछि कसैले कसैलाई नचिन्ने र आआफ्नो बाटो लाग्ने ।

अव प्लान अनुसारको काम सुरु भयो । गौतमलाई अव साथीहरुको सिष्टमको युजर आईडी पत्ता लगाउनु थियो । स्वयम्भू शाखामै कार्यरत महिला लेखापाल गीता पन्तले प्रयोग गरिरहेको सिष्टमको युजर आइडी र पासवर्ड पत्ता लगाए । त्यसपछि पन्तकै आइडीबाट नक्कली रेमिट्यान्स इन्ट्री गरे, आफ्नो आइडीबाट अथोराइज गरे । सोझै स्वयम्भू शाखाबाटै ठूलो रकम निकालिँदा शंका हुने भएपछि गौतम र थापाको सल्लाहमा स्वयम्भु शाखामा प्रविष्ट गरिएको नक्कली रकमलाई पुतलीसडक, न्यूरोड, रत्नपार्क, मङ्गलबजार र सातदोबाटो जस्ता व्यस्त शाखाहरूमा खोलिएका खाताहरूमा ट्रान्सफर गर्ने योजना बन्यो । सो रकम निकाल्नका लागि ती विभिन्न शाखाहरुमा नक्कली नागरिकता प्रयोग गरेर सरोज यादव, रणजित भट्टराई, नवनिधान गुरुङ र बलराम के.सी. को नाममा खाता खोलियो । यति सम्मकि भारतको सिक्किमबाट काठमाडौं बोलाइएका सूर्यबहादुर लिम्बू लाई ‘बसन्त राई’ को नक्कली नागरिकता र फोटो टाँसेर नक्कली खाता खोलियो ।
अव रकम ती खातामा ट्रान्सफर गरियो । खातामा पैसा ट्रान्सफर भएको जानकारी केदारले आफ्ना पार्टनर राजीवलाई गराएपछि राजीव ट्याक्सीमा ती खातावालहरुलाई बोकेर बैंक जान्थे, ट्याक्सी भित्रै चेकबुकमा सहि गराउँथे, पैसा झिकेर ल्याउन लगाउँथे, खातावालाको भागको पैसा दिन्थे, र केदार र आफ्नो भागको पैसा लिएर फर्किन्थे ।
कमिसनको लोभमा नक्कली नागरिकता र चेक बोकेर खातावालाहरु बैंक जान्थे, रकम ल्याएर राजीवलाई बुझाउँथे । यसरी विभिन्न शाखाबाट, विभिन्न व्यक्तिका नाममा करोडौँ रुपैयाँ क्यास विथड्र भयो । सिष्टममा रकम देखिएपछि बैंकले क्यास नदिने कुरै भएन । तर रकम कागजी मात्र थियो । बैंकका हाकिम र अन्य कर्मचारीहरू कार्यालय समय सकिएर घर फर्कन्थे, तर केदार आफ्नो केही काम बाँकी छ भनेर अफिसमै बस्थे । मध्यरातसम्म बसेर उनी अरुको युजर आइडीबाट नक्कली रेमिट्यान्स इन्ट्री बनाउने, आफ्नोबाट अथोराइज गर्ने, र ती रकम उनैको योजना अनुसार खोलिएका खातामा रकम ट्रान्सफर गर्थे र घर जान्थे । बैंकले पैसा लिन आएकाहरुलाई पैदा दिंदै गयो । बैंकको सिष्टममा भने अंक थियो, पैसा थिएन । र महिनौंसम्म यो बदमासी चलिरहँदा पनि न अरु बैंकरले थाहा पाए, न हेड अफिसले थाहा पायो ।
नगद भुक्तानी मात्र होइन राजीव र केदार मिलेर तत्कालीन सिभिल बैंक, माछापुच्छ्रे बैंक, लगायतकाबैंकमार्फत इलेक्ट्रोनिक चेक क्लियरिङ प्रणालीको समेत दुरुपयोग गरी करोडौं रकम अन्यत्र ट्रान्सफर गराए । बैंकिङ अनुभवी भएकाले केदारलाई यस्तो बदमासी गर्न धेरै सोच्नु नै पर्दैन थियो । र महिनौंसम्म यस्तो घटना घटिरह्यो । बैंकको नियमअनुसार हरेक दिनको कारोबार सोही दिन साँझ मिलान हुनुपर्छ । तर, स्वयम्भू शाखामा महिनौँसम्म करोडौँको नक्कली कारोबार भइरहँदा पनि कसैले अत्तोपत्तोसमेत पाएन ।

यसरी बैंकबाट निकालिएको पैसाले केदारले ऋण तिरे, साथीभाइको सापटी फिर्ता दिए । आफूले पनि खुब मोज गरे, दिनदिनै पार्टी गर्न थाले, लुटेको रकम उडाउन थाले । साथीभाइ र बिचौलियाहरूलाई बोलाएर प्लेनमा चढेर घुम्न जाने, महँगा रिसोर्टमा बस्ने र भड्किलो पार्टी दिन थाले केदारले । कसलाई कति सापटी चाहिन्छ तेरो दाइले दिन्छ भन्ने शैलीमा उनले माग्न आएजतिलाई कसैलाई ५ लाख कसैलाई ७ लाख गरेर सापटी दिए । उनी हाँस्दै भन्थे- पैसा कमाउन सजिलो छैन नि, समयमै फिर्ता गर्नू । यसरी एउटा लुटेराको भड्किलो मोजमस्ती महिनौंसम्म चलिरह्यो ।
उनी आफ्ना सहकर्मीहरुलाई भन्थे, मेरी श्रीमती सम्झना लाई डिभी परेको छ, अव छिट्टै बैंकबाट राजिनामा गरेर अमेरिका जान्छु । उनी नजिकका साथीभाइलाई पनि त्यहि भन्थे ।
यही बीच उनले आफ्नी श्रीमतीलाई दार्जलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहींको स्कूलमा भर्ना गरी बसोबासको व्यवस्था मिलाईदिए । नेपालमा छोराको पढाई पनि राम्रो भएन, तिमी त्यहाँ गएर छोरा पढाउँदै गर, म बेला बेला आउँछु भन्थे उनी श्रीमतीलाई । आफ्ना बैंक ठगीका पार्टनर राजिव थापाले उनकी श्रीमती बस्ने बन्दोबस्ता पनि गरिदिए ।उनकै सहयोगमा केदारको प्रेम शर्माको नाममा र श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय नक्कली राशन कार्ड बनाए, त्यहि आधारमा बैंक खाता समेत खोले । श्रीमतीलाई भारत पठाएपछि पैसावाल भएका केदार काठमाडौंमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बस्न थाले । जेनी पोर्चुगलको रेसिडेण्ट कार्डधारी थिइन् । उनीसँग विवाह गरेर डिपेण्डेण्टमा उनी पोर्चुगल जाने तयारीमा थिए । तर, साथीभाईलाई अमेरिका जाने भन्दै उनले श्रीमतीका नाममा रहेको सम्पत्ति बेचेका थिए, सापटी तिरेका थिए ।
पछिको सजिलोका लागि भनेर उनले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु तथा लेखनदास समेतको कीर्ते कागजात खडा गरी तेज बहादुर थापाको नाममा नागरिकता प्रमाण-पत्र र राहदानी प्राप्त गरी आफुलाई केदार प्रसाद गौतमबाट तेज बहादुर थापामा परिणत गरे । त्यसपछि तेज बहादुर थापा कै नाममा तत्कालीन सेन्चुरी बैंक, भक्तपुर शाखामा खाता खोली लुटेको रकम जम्मासमेत गरे ।
तर एक दिन एउटा सानो गल्तीले केदारले गरिरहेको यो घोटाला बाहिर आयो ।
२०७२ असार ७ गते साँझ ६ बजेको थियो । केदारप्रसाद गौतमले सरोज यादवको खाताबाट अर्को खातामा १० लाख रुपैयाँ ट्रान्सफर गर्न गीता पन्तको आईडीबाट इनपुट गरे, तर आफ्नो आईडीबाट त्यसलाई अथोराइज गर्न छुटाएछन् । अव सो १० लाखको कारोबार सिष्टममा पेण्डिङ भएर बस्यो । भोलिपल्ट असार ८ गते बिहान १० बजे गीता पन्त कार्यालय आएर आफ्नो प्रणाली खोल्दै गर्दा उनका हाकिमले सोधे ‘हिजो बेलुकी १० लाख रुपैयाँको फन्ड ट्रान्सफर किन पेन्डिङ राखेको ? किन काम नसकी हिँडेको ?’

पन्त अचम्ममा परिन् । अघिल्लो दिन त्यस्तो कुनै कारोबार नै भएको थिएन । तर सिष्टममा १० लाख पेण्डिङ्ग देखियो । शंका लागेर भौचर र चेक खोज्दा केही पनि भेटिएन । त्यसपछि बैंकको कोर सिष्टम हेरेर गहिरो अनुसन्धान गर्दा त पन्तको युजर आइडीबाट दर्जनौं नक्कली रेमिट्यान्सका इन्ट्रीहरु भएको र केदार गौतमले स्वीकृति दिएको तथ्य भेटियो । बैंकबाट करोडौँ रुपैयाँ घोटाला भईसकेको पत्ता लागेपछि तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले हेड अफिसमा फोन गरे, राष्ट्र बैंकमा जानकारी गराए र सीआईबीमा समेत खबर गरे । तर यति बेलासम्म बैंकको करोडौँ रुपैयाँ घोटाला भईसकेको थियो । बैंकमा आफ्नो कर्तुत बाहिरिएको थाहा पाएपछि तत्काल केदार त्यहाँबाट भागे र ठगेको रकम हुन्डीका विभिन्न सञ्जालमार्फत भारतको सिल्लीगुडीतर्फ पठाएर आफु पनि भारत भागे । केस प्रहरीसम्म पुगिसकेको थियो । त्यसैले नेपाल र भारतीय प्रहरीको नजरबाट बच्न उनले आफ्नो पुरानो परिचय लुकाए ।भारतको दार्जिलिङ र सिल्लीगुडी पुगेर ‘प्रेम शर्मा’ को नाममा उनले नक्कली भारतीय नागरिकता, आधार कार्ड र ड्राइभिङ लाइसेन्स समेत बनाए ।
काठमाडौंमा श्रीमती सम्झना पोखरेल र छोरा थिए । तर उनीहरुको मतलव नगरी उनले काठमाडौँमा भेटिएकी जेनी श्रेष्ठलाई भारत बोलाए, विवाह गरे र एउटा भव्य फ्ल्याट भाडामा लिएर बस्न थाले ।
तर त्यसको केहि समयपछि भारतीय प्रहरीको समेत सहयोगमा केदारकी श्रीमती पक्राउ परिन् । केदार र उनकी कान्छी श्रीमती जेनीसमेत पक्राउ परिन्। उनीहरुबाट बरामद भएका गरगहना, रकम, प्रतिवादी केदार प्रसाद गौतमसँग सापटी लिएका मानिसहरु मध्येबाट असल नागरिकको हैसियतले फिर्ता गरेको रकम, तेज बहादुर थापाको नामको खाता रोक्का राखी त्यहाँ जम्मा भएको रकम समेत गरी १ करोड अनुसन्धानको क्रममा रिकभरी त भयो, तर अझै थुप्रै रकम रिकभरी हुन बाँकी छ ।
केदारविरुद्ध ८ बर्ष कैदको सजाय भएको छ भने उनका पार्टनर राजीवविरुद्ध पनि ८ बर्ष कैद सजाय भएको छ । कैद सजाय भए पनि बिगो रकम तिर्न नसक्दा उनीहरु अहिले पनि जेलमै छन् । भरतबहादुर बानियाँ, जेनी श्रेष्ठ गौतम र सुमन भुजेलले आरोपदावीबाट सफाई पाएका छन् । उनकी श्रीमती सम्झना पोखरेल एक महिना कैद भुक्तानी गरेर निस्किसकेकी छिन् । नक्कली खातावालाहरु पनि केही समय जेल बसेर र केही जरिवाना तिरेर जेलबाहिर निस्किसकेका छन् । अहिले राजीव विरुद्ध भने प्रहरीले पुरक अनुसन्धान सकेर पुनः पुरक अभियोगपत्र लिएर अदालत पेश गरेको छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्