काठमाडौँ । इसेवा सहितका डिजिटल वालेटको दुरुपयोग गरेर २ अर्बको हुण्डी कारोबार गर्ने एकै परिवारका तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । धादिङको सत्यदेवी घर भई हाल काठमाडौँको नागार्जुन बस्ने राजेन्द्रप्रसाद रिजाल उनका भाई (रुसमा बस्ने) सुमन रिजाल र भाइबुहारी पविता उपाध्यायविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको लामो छानविनपछि उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्र अनुसार उनीहरुमाथि १ अर्ब ९९ करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको आरोप छ । उनीहरुले रुसमा रहेका नेपालीहरुबाट रकम संकलन गरी नेपालमा अवैधानिक रुपमा हुण्डी गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

भएको के हो ?
अभियुक्त सुमन रिजाल हाल रुसमा छन् । उनले रुसमा रहेका नेपाली कामदारबाट विदेशी मुद्रा संकलन गर्ने र सोही बराबरको नेपाली रुपैयाँ राजेन्द्रप्रसाद रिजाल (दाइ) र पविता उपाध्यायको बैंक खाताबाट नेपालमा व्यवस्थापन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । पविता समेत रुसमै छिन् । तर, नेपालमा रहेको उनको बैंक खाता राजेन्द्र (जेठाजू)ले चलाउँदै आएका थिए ।
उनीहरुले यसरी रुसमा रहेका नेपालीहरुको श्रम र कमाईलाई वैधानिक बैंकिङ प्रणालीभन्दा बाहिर राखेर हुण्डीमार्फत कारोबार गर्ने गरेको अभियोगपत्रमा उल्लेख छ ।
सीआईबीको अनुसन्धानबाट उनीहरुले रुसको पैसा रुसमै राख्न र नेपालको पैसा नेपालमै सेटल गर्न ‘मिरर ट्रान्जेक्सन’ विधि अपनाएको पनि खुलेको छ । उक्त कार्य आफ्नो भाइ सुमनको निर्देशनमा गरेको राजेन्द्रले स्वीकारेका छन् ।
यतिसम्म कि उनले सुमन रिजालले आफूलाई मासिक २५ हजार रुपैयाँ तलब दिने गरेको र सोही तलबको भरमा मात्र हुण्डी कारोबार गर्ने गरेको बताएका छन् ।

हुण्डी कारोबारमा इसेवासहितका वालेटको दुरुपयोग
राजेन्द्र, सुमन र पवितासहितको गिरोहले गरेको उक्त अवैध हुण्डी कारोबारमा इसेवासहित अन्य डिजिटल वालेटहरुको समेत प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।
राजेन्द्रले दिएको बयान र उनको बैंक स्टेटमेन्टका आधारमा उक्त अवैध हुण्डी कारोबारमा उनीहरुले सानिमा बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंकसहित दर्जनौँ बैंक खाता र इसेवा, फोनपे लगायतका डिजिटल वालेटको समेत प्रयोग गर्ने गरेको खुलेको छ ।

ह्वाट्सएपको व्यापक प्रयोग, सेक्युरिटी कोड ‘नोट नम्बर’
उक्त गिरोहले सम्पूर्ण कारोबार सम्बन्धी कुराकानी र योजनाबारे मेसेजिङ एप ह्वाट्सएपको प्रयोग गर्ने गरेको पनि खुलेको छ । अवैध हुण्डी कारोबारलाई सुरक्षित र गोप्य राख्नका लागि उनीहरुले ह्वाट्सएपको प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अर्कोतर्फ उनीहरुले सेक्युरिटी कोडका रुपमा भारतीय नोटको प्रयोग गर्ने गरेको पनि अभियोगपत्रमा उल्लेख छ । रकम लिन आउने वा दिन आउने व्यक्तिहरुको पहिचानका लागि भारतीय वा नेपाली नोटको फोटो र नोटको नम्बरलाई सेक्युरिटी कोडका रुपमा प्रयोग गरिएको पनि अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले सो नोटको फोटो पनि ह्वाट्एपमार्फत नै पठाउने गर्थे । ह्वाट्सएपमार्फत पठाइएको सोही नोट लिएर आउनेलाई मात्र रकम भुक्तानी लिने वा दिने गर्ने गरेको तथ्य पनि अनुसन्धानले खोलेको छ ।
मुद्दा दायर भएका उनीहरुविरुद्ध कुल बिगो १ अर्ब ९८ करोड ९७ लाख ४० हजार ३ सय २८ रुपैयाँ जफत गर्न र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार बिगोको तीन गुणासम्म जरिवाना वा ७ वर्ष कैद वा दुवै सजाय हुनुपर्ने माग गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्