Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको सहायक निर्देशकमा लोकसेवा आयोगको चरम लापरवाही, रिटोटलिङ गर्दा नतिजा नै फेरियो !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगले चरम लापरवाही गरेको पाइएको हो । परीक्षा दिएकाहरुले रिटोटलिङमा आवेदन दिएपछि उत्तरपुस्तिका हेर्दा परीक्षार्थीले पाएको नम्बर नै फरक भेटिएपछि लोकसेवा आयोगको चरम लापरवाही सतहमा आएको हो । नम्बर नै फरक देखिएपछि यसअघि प्रकाशित नतिजा रद्ध गरी अर्को नतिजा सार्वजनिक गरिएको छ ।

आफ्नो गम्भीर लापरवाही स्वीकार्दै आयोगले नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १५/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको नतिजा संशोधन गरेको हो ।

कुल १ हजार ७७ जनाले दिएको परीक्षाको नतिजा आयोगले गत साउन २९ गते प्रकाशन गरेको थियो । तर नतिजामा चित्त नबुझेपछि परीक्षार्थीहरुले रिटोटलिङका लागि आवेदन दिएका थिए । त्यसपछि उत्तरपुस्तिका हेर्दा रोल नम्बर ४०५७ का परीक्षार्थी सन्दीप लुइटेलले प्राप्त गरेको अंक नै फरक परेको देखिएको छ । सुरुको नतिजामा उनी सूचीमै थिएनन् । तर पछि रिटोटल गर्दा उनी खुलातर्फ उत्तिर्ण भएको देखियो । यसरी पास भईसकेको मान्छेलाई लोकसेवाले फेल बनाएको पाइएपछि साउन २९ गते प्रकाशित सूचना नं. २०९/०८३–८४ को नतिजा रद्द गरी भदौ १८ गतेको निर्णय अनुसार संशोधित नतिजा प्रकाशन भएको हो ।

आयोगले सुरुमा प्रकाशन गरेको नतिजामा खुलातर्फ ३१ जना छनोट भएका थिए । पछिल्लो सूचना अनुसार सो संख्या १ ले बढेर ३२ पुगेको छ । यसो त लोकसेवाको लापरवाही यतिमै सिमित देखिएन । महिलातर्फको नतिजामा पनि सुरुमा २० जना पास भएकोमा पछि २१ जना पास भएको पाइएको छ । महिलातर्फ सुनिता खनालको नाम सुरुको नतिजामा थिएन । पछिल्लो नतिजामा उनको नाम पनि थपिएको छ, अर्थात् उनी पनि सो परीक्षामा पास भएको तर सुरुवाती परीक्षामा उनलाई फेल बनाइएको पाइएको छ । सबै सूचीहरु हेर्दा पहिला ६० जना पास भएका थिए भने पछि सो सूचीमा ६२ जना परेका छन् ।

समग्रमा भन्दा लोकसेवाको नतिजामा भएका कैफियतहरु यस्ता छन् :
१. पहिलो नतिजाको लिखितमा नाम निस्कने सि.नं. ३८ रोल नं ३८५१ व्यक्तिको महिलाबाट नाम आएको छ । तर संसोधित नतिजा २० दिन पछि आज सार्वजनिक हुँदा उहाँको नाम छैन ।
२. पहिलो लिखित नतिजामा नाम नआउने सि.नं. ३५ रोल नं ४०५७ व्यक्तिको संसोधित नतिजामा नाम आएको छ !
३. त्यसैगरी आयोगको पहिलो लिखित नतिजामा नाम नआउने सि.नं. ५३ रोल नं ४९५० व्यक्तिको पनि संसोधित नतिजामा नाम आएको छ ।
४. त्यसैगरी आयोगको पहिलो लिखित नतिजामा नाम नआउने सि.नं. ५५ रोल नं ५००९ व्यक्तिको पनि संसोधित नतिजामा नाम आएको छ ।
आयोगले १ जना महिलाको नाम हटाई १ जना पुरुष र २ जना महिला गरि ३ जनाको नयाँ नाम थप गरेको छ।  यसबारे नतिजा विस्तृत हेर्दा मात्र देखिन्छ ।  तर आयोगले सूचनाको टपमा ब्रिफिङ गर्दा १ जनाको नतिजा मात्र पुनर्योग भएको भनेको छ जसले झन् लोकसेवाको विश्वास घटाईदिएको छ ।

लोकसेवा आयोग धेरैले विश्वास गरेको संस्था हो । धेरैलाई लाग्छ -लोकसेवामा तलमाथि हुँदैन ।तर, राष्ट्र बैंकको परीक्षामा जे भयो, त्यसले सबैलाई झस्काएको छ । लोकसेवाको परीक्षाको प्राप्ताङ्क विभिन्न चरममा रुजु हुन्छ भनिन्छ । तर अन्तिम नतिजामा आएको फरकले उत्तरपुस्तिका जाँच्ने, त्यसको रुजु गर्ने, नम्बर जोड्ने, त्यसलाई फेरी भेरिफाई गर्नेहरुमाथिको विश्वास पनि उडेको छ ।

लोकसेवा आयोगका अनुसार उत्तरपुस्तिकामा भएको अंक जोड्दा उत्तरपुस्तिका जाँच्नेले दिएको नम्बर सही रूपमा जोडिएको छ कि छैन भन्ने पनि हेरिने गरिएको छ । एक पटक हेरिएको सो उत्तरपुस्तिकाको अंक फेरी भेरिफाई हुन्छ भन्छ लोकसेवा आयोग । तर यसपाली, हेर्नेले के हेरेछन् कुन्नि, लोकसेवाको विश्वासमाथि नै दाग लाग्नेगरी जथाभावी गरेछन् । यसले लोकसेवा आयोगमा जागिर खान बसेकाहरुको क्षमतामाथि त प्रश्न उठाएको छ नै, उनीहरु आफ्नो काममा कतिसम्म लापरवाही गर्छन् भन्ने पनि देखाएको छ ।

आयोगका अनुसार यसरी रिटोटलिङ गर्दा नतिजा फरक परेको सम्भवत पहिलो घटना हो । अव घटना नै पहिलो हो वा पहिला पनि यस्तो हुन्थ्यो, कुरा बाहिर आएन भन्ने प्रश्न परीक्षार्थीहरुको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK