काठमाडौँ । गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ ।
जेन-जी आन्दोलनको एक वर्षको अवधिमा अन्तरिम सरकार बन्यो, गैरराजनीतिक अनुहार प्रधानमन्त्री र मन्त्री बने । यसपछि फागुन २१ मा निर्वाचन भयो जहाँबाट रास्वपाको नेतृत्वमा सरकार बनेको छ ।
विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्म के–के भयो ? तस्बिरमा हेरौँ:

भदौ २३-२४, २०८२: जेन–जी आन्दोलन
सरकारले भदौ १९ मा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धविरुद्ध, भ्रष्टाचार, नातावादको विरोधमा जेन-जी पुस्ता एकजुट भए । यसपछि आन्दोलन आव्हान् भयो । आन्दोलनमा सहभागी हुन किशोरकिशोरी, युवायुवती स्वतस्फूर्त माइतीघर आइपुगे ।
माइतीघर मण्डलाबाट सुरू प्रदर्शन नयाँ बानेश्वरस्थित संसद् भवनतिर अघि बढ्यो । खास यहीँबाट जेनजी आन्दोलनले उग्र रूप धारण गरेको थियो ।

सुरक्षाकर्मीले घातक हतियारसहित अत्यधिक बल प्रयोग गर्दा पहिलो दिन १९ जनाले ज्यान गुमाए । यसपछि देशभर प्रदर्शन झनै चर्कियो । अघिल्लो दिनको घटनाकै कारण भदौ २४ मा कर्फ्युका बाबजुद आन्दोलन रोकिएन ।

सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री र मन्त्री निवास, राष्ट्रपति भवन, अदालतहरू र अन्य सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भयो ।

थप ५० जनाले ज्यान गुमाए ।

परिस्थिति नियन्त्रण बाहिर पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । सेनाले स्थिति नियन्त्रणमा लिने प्रयास गर्यो । ओलीको राजीनामा, आगजनी, तोडफोडपछि मात्र परिस्थिति साम्य भयो ।
भदौ २७ : अन्तरिम सरकार गठन
आन्दोलनकारी र सरोकारवालाबीच छलफलपछि (जेन–जी समूहको अनलाइन मतदानसमेत) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने सहमति भयो । भदौ २७ मा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरे । सोही दिन प्रतिनिधिसभा विघटन गरियो र फागुन २१ मा निर्वाचन घोषणा भयो ।


पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, अधिवक्ता ओमप्रकाश अर्याल मन्त्री नियुक्त भए । उनीहरूले आगजनीबाट क्षतिग्रस्त शीतल निवासमा टाँगिएको टेन्टमुनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भदौ ३० मा शपथ लिए ।

अन्तरिम सरकार गठनदेखि निर्वाचनको अवधिमा बालेन्द्र शाह (बालेन)दलीय राजनीतिमा प्रवेश गरे । पुस १३ मा उनी औपचारिक रूपमा रास्वपा प्रवेश गरे । उनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेद्वार बनायो । उनले माघ पहिलो साता काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिए । यसपछि आम निर्वाचनमा होमिए । 
असोज २८ : ३५ दिनपछि देउवा सार्वजनिक
जेनजी आन्दोलनमा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवामाथि बुढानिलकण्ठस्थित निवासमा निर्घात कुटपिट भएको थियो । यसपछि उनी उपचारमा थिए, सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

घटनाको ३५ दिनपछि देउवा सार्वजनिक भएका थिए । असोज २८ मा आयोजित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन उनी सानेपास्थित पार्टी कार्यालय पुगेका थिए । त्यही बैठकपछि देउवाले आफू उपचार गर्न विदेश जाने भन्दै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबहाक सभापतिको जिम्मा दिएका थिए ।
पुस ३० : सभापतिमा गगनको उदय
जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलमा उथलपुथल मच्चियो । पुराना नेताले पार्टीको नेतृत्व छोडेर जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने बहस चर्कियो ।
एमाले र माओवादीमा नेतृत्व फेरिएन । तर, कांग्रेसको आन्तरिक राजनीति बद्लियो, जसको असर आज उप्रान्त देखिन्छ । सभापतिबाट शेरबहादुर देउवालाई हटाउने गरी तत्कालीन महामन्त्री गगनकुमार थापालगायत नेताहरू एकजुट भए । उनीहरूले कांग्रेसको विशेष महाधिवेशन बोलाए, जहाँबाट सभापतिमा गगनको उदय भयो ।

विशेष महाधिवेशन २०८२ साल पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो। विशेष महाधिवेशनबाट २०८२ साल पुस ३० गते थापा कांग्रेस सभापतिमा निर्विरोध निर्वाचित भए ।
हुन त, जेनजी आन्दोलनभन्दा पहिले नै गगन कांग्रेसको नेतृत्वमा आउन चाहेका थिए । तर, आन्दोलनपछि पुराना नेताविरुद्धको वितृष्णासहितको घटनाक्रमले गगनलाई थप सहज परिस्थिति बन्यो ।
फागुन २१ : आम निर्वाचन
पूर्वघोषणाअनुसार फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन भयो । रास्वपाले अप्रत्याशित भारी बहुमत १८२ सिट ल्यायो । बालेन शाह झापा–५ बाट उम्मेदवार बने र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराए ।
चुनावभन्दा करिब डेढ महिनाअघि पार्टीको नेतृत्वमा आएका कांग्रेस सभापति गगनकुमार थापा पनि पराजित भए ।
हुन त देउवाविरुद्ध लागेकाले कांग्रेसकै एउटा तप्काले चुनावमा गगनलाई साथ नदिएको चर्चा हुन्छ । तर, देशभरको परिस्थिति हेर्दा पुराना दलका व्यक्तिले चुनाव जित्ने अवस्था पनि नरहेको नतिजाले देखाउँथ्यो । त्यसमाथि मधेशमा बालेनको व्यक्तिगत र रास्वपाको प्रभाव बढ्दा गगनको हार हुने अवस्था बन्यो ।
पुराना पार्टीले अपूरणीय क्षति व्यहोर्दा श्रम संस्कृति पार्टी पहिलोपटक संसदमा प्रवेश गरेको विषय पनि गत वर्षको एउटा स्मरणीय घटनाक्रम हो ।
चैत-१२ : सांसदको शपथ
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएकाको शपथ चैत १२ मा भयो । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्वाचित २७४ सदस्यलाई शपथ गराएका थिए । यसपछि रास्वपाले बालेनलाई संसदीय दलको नेता बनायो ।

चैत १३ : प्रधानमन्त्री नियुक्ति
अघिल्लो दिन सांसदको शपथ भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाए । उनले रास्वपा संसदीय दलका नेता बालेनलाई चैत १३ मा प्रधानमन्त्री नियुक्त गरे ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई प्रधानमन्त्री नियुक्त गरे । बालेनले चैत १३ मा शपथ १२ः३४ बजेको शुभ साइतमा शपथ लिए । यससँगै उनी ३६ वर्षीय र मधेशी समुदायका पहिलो प्रधानमन्त्री बने । उनले पहिलो चरणमा १४ जना मन्त्री पनि नियुक्त गरेका थिए ।
चैत १४ : ओली–लेखक पक्राउ
बालेन शाह प्रधानमन्त्री बनेको भोलिपल्टै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे । आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको घातक दमन र ७० भन्दा बढीको ज्यान गएको घटनामा उनीहरूमाथि ज्यानसम्बन्धी कसुर गरेको अभियोग लगाइएको थियो ।


सरकारले पर्याप्त तयारी नगरी पक्राउ गर्दा उनीहरूलाई हिरासतमा राख्न र थप कारबाही गर्न प्रमाण पुगेन । जसका कारण सर्वोच्च अदालतले चौँथोपटक म्याद नथप्न र अनुसन्धान पूरा नभए हिरासतमुक्त गर्न आदेश दिएको थियो । यसपछि १३ दिन हिरासत बसेर ओली–लेखक रिहा भए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्