काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन् । कतारको राजधानी दोहामा जारी एआइआइबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेका हुन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार भेटमा वाग्लेले प्राकृतिक विपद्पछिको पुनःनिर्माण, सहुलियतपूर्ण वित्तीय पहुँच तथा पूर्वाधार विकासमा एआइआइबीको सहयोग थप विस्तार गर्न आग्रह गरेका छन् ।
भेटका क्रममा अध्यक्ष जियायीले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
उनले एआइआइबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’ मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने जानकारी दिइन् । साथै, उक्त फन्डको अनुदान प्रयोग गरी नेपाललाई प्रदान गरिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने बताएकी थिइन् ।
भेटमा अर्थमन्त्री वाग्लेले एआइआइबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरेका छन् । एआइआइबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति पनि उनले दुःख व्यक्त गरेका थिए ।
मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासमा एआइआइबीको आफ्नै स्रोतसँगै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गर्न अर्थमन्त्रीले आग्रह गरे ।
भेटमा अध्यक्ष जियायीले संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याइन् । अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष जियायीलाई बधाई दिँदै नेपाललाई एआइआइबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
सो अवसरमा अर्थमन्त्री वाग्लेले अध्यक्ष जियायीलाई सन् २०२६ भित्र नेपाल भ्रमण गर्न निमन्त्रणासमेत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्