काठमाडौँ । इसेवामा सिए जगदीश खड्काको परिचय अव तत्कालीन सिइओ भएको छ । पूर्व बैंकर निरज शर्माले सीइओ पद सम्हालेपछि खड्का पूर्व सिइओ बनेका हुन् । इसेवाको इतिहासमै सबैभन्दा विवादित सिइओ बनेर नमिठो बिदाई लिएका खड्का सिइओ हुँदा नै इसेवा इतिहासमै सबैभन्दा बढी पटक बिग्रिएको थियो । संस्थागत सुशासनमा समस्यादेखि, टेक्निकल बगसम्म, खड्काको कार्यकालमा इसेवा उँधोगतिमा बगिरह्यो । यसो त केहि राम्रा काम पनि गरे खड्काले इसेवामा । आउनुहोस् इसेवामा जगदीश खड्काले गरेका राम्रा र नराम्रा कामको समिक्षा गरौँ ।
टेक्निकल कर्मचारीहरु भन्छन्- ‘इतिहासकै कालो कार्यकाल’
इतिहासमै पहिलोपटक इसेवा ३७२ पटक बिग्रियो जगदीश खड्काको कार्यकालमा । इसेवा यति धेरै बिग्रिन थाल्यो कि चौतर्फी आलोचना भएपछि इसेवाले इसेवा बिग्रिएको र सेवा सूचारु भएको सूचनासमेत दिन छाड्यो । कहिलेकाहीं बिग्रिदा इसेवाले त्यस्तो सूचना दिने गरेको थियो । तर कुनै बेला त दिनहुँजसो इसेवा बिग्रिएपछि जगदीश खड्काकै निर्देशनमा त्यस्ता सूचनाहरु दिन नै छाडियो ।
इसेवाको संस्थागत सुशासनमा पनि जगदीश खड्काको कार्यकाल नमिठो देखियो । स्वयम् राष्ट्र बैंकको प्रतिवेदनले पनि इसेवाभित्र थुप्रै संस्थागत कुशासन रहेको तथ्य इन्सपेक्सनका क्रममा फेला पारेको थियो । केहि निश्चित मान्छेलाई सर्कलमा राखेर काम गर्ने, र अरुको कुरा नसुन्ने गरेपछि टेक्निकल टिमलेसमेत जगदीश खड्कालाई असहयोग गरेको थियो । जगदीश खड्का र इसेवाका टेक्निकल टिमबीच यतिसम्म मन मुटाव थियो कि, जगदीश खड्काको कार्यकाल नवीकरण नहुने चर्चा चलेपछि ‘अव इसेवा बिग्रिन्न’ भनेर टेक्निकल टिमले कम्पनीभित्रै खुलेआम भन्ने गरेको थियो ।
इसेवाको ब्राण्ड सबैभन्दा बढी जगदीश खड्काकै पालामा बिग्रियो । इसेवा- इ चल्छ, सेवा चल्दैन भन्ने ट्यागलाइन जनजनको मनमा पर्यो । यो कसैले दिएको ट्याग भन्दा पनि सेवाग्राहीले गरेको कमेन्ट थियो । ब्राण्ड र मार्केटिङमा आफ्ना मान्छे राख्ने, तिनकै गलत ब्रिफिङ सुन्ने गर्दा समग्र इसेवाको ब्राण्ड बिग्रियो । सेवाग्राहीको समस्या तत्काल समाधान नगर्दा, स्क्याममा परेकाहरुको पैसा फिर्ता ल्याउन सहयोग नगर्दा र सबैभन्दा बढी ग्राहकलाई थाहा नै नदिई पैसा काटिँदा इसेवाको सबैभन्दा बढी ब्राण्ड बिग्रियो, त्यो पनि जगदीश खड्काकै कार्यकालमा ।
इसेवाले दाबी गरेको राम्रो काम- ‘मात्र नियमित काम’ बोर्डकै संचालक भन्छन्, ‘खड्काले नयाँ केहि गरेनन्’
खड्काको कार्यकाल सकिँदै गर्दा इसेवाले विभिन्न मिडियाहरुमा प्रकाशन गर्न लगाएको जगदीश खड्काको प्रगति विवरण निकै कस्मेटिक छ । त्यहाँ इसेवाले खड्काको कार्यकालमा इसेवाका प्रयोगकर्ता र मर्चेन्टको संख्या उल्लेख्य रूपमा बढेको जनाएको छ । जवकि इसेवाजस्तो कम्पनीमा ४ वर्षमा प्रयोगकर्ता बढ्नु कुनै नौलो काम थिएन ।
खड्काको नेतृत्वमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिंक, इन्टेन्ट पे, इन्सुरेन्स तथा विभिन्न लाइफस्टाइल सेवाको विस्तार भएको कम्पनीले जनाएको छ । यो पनि खासै नयाँ भन्दा पनि समयको माग अनुसारका सामान्य काम थिए । यीमध्ये कति बैंकरहरुको माग थियो भने कतिपय कुराहरु बोर्डको निर्देशन पनि थियो । खड्काको नेतृत्व भएकाले खड्काले जस लिने कुरा भए पनि यस्ता सेवा ल्याउँदा त्यसको आइडिया अरुकै र कार्यन्वयन मात्र सीइओका हैसियतले खड्काको रहेको कम्पनीकै उच्च अधिकारीहरु बताउँछन् ।
मिडियासँगको निरन्तर दूरी, ‘इगोकोमात्र चुरीफुरी’
यसो त आफु निकटका मिडिया छाडेर जगदीश खड्काले अरुहरुसँग दूरी राखिरहे । मिडियाबाटै आएका मेनेजरको गलत ब्रिफिङकै भर पर्ने, र मिडियाका आलोचनालाई गलत रुपमा प्रस्तुत गर्ने उनको कामले सबैभन्दा बढी घाटा इसेवालाई नै भयो । उनले कतिपय मिडियाकर्मीसँग भेट्न नै चाहेनन्, कतिलाई आफैंले बोलाएर समय नदिएर बेइज्जत गरेर फर्काए ।
न नियामकको निर्देशन अक्षरस टेरियो, न इसेवा अव जनताको विश्वासमा अडिएको कम्पनी हो भन्ने हेरियो । मात्र आफ्नो हेरे जगदीशले भन्ने आरोप छ उनीमाथि । र उनले यो आरोपको खण्डन न हिजो पदमा हुँदा गरे, न पद सकिएपछि सम्पर्क गर्न खोज्दा सम्पर्कमै आए ।
अव इसेवाको कमाण्ड निरज शर्माले सम्हालेका छन् । हाम्रो भन्नु यति हो, इसेवा जनताको विश्वास जोडिएको कम्पनी हो । सो विश्वासमाथि न्याय गरियोस् । फेरी पनि जनताले पहिलाजसरी नै भन्नु नपरोस्- इसेवा, इ चल्छ सेवा चल्दैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्