Skip to content
LAXMI SUNRISE BANK

पुँजी बजार सुधारका लागि बोर्डको तीन चरणको रणनीति, ब्रोकरदेखि नेप्सेसम्म सुधार गरिने

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणको सुधार रणनीति अघि बढाएको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै बजारका सरोकारवालाको सहभागितामा सुधार अघि बढाउने बताएका हुन् ।

बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ । समितिमा नेप्से, सिडिएस एण्ड क्लियरिङ, नेपाल उद्योग वाणिज्य महासंघ तथा मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि संलग्न छन् । सुधारका लागि पहिले कन्सेप्ट पेपर तयार गर्ने, समितिमा छलफल गर्ने, सार्वजनिक परामर्श लिने र त्यसपछि नीति कार्यान्वयन गर्ने प्रक्रिया अपनाइनेछ ।

प्राथमिक बजारतर्फ आईपीओ निष्कासन, प्राइस डिस्कभरी, योग्य संस्थागत लगानीकर्ता र सेयर बाँडफाँड प्रणाली सम्बन्धी नीति तयार भइसकेको र क्रमशः लागू गरिने बोर्डले जनाएको छ ।

दोस्रो बजारतर्फ भने ब्रोकर संस्थाको पुनर्संरचनालाई प्राथमिकता दिइएको छ । ब्रोकरलाई पारिवारिक व्यवसायको सीमित संरचनाबाट माथि उठाउँदै ‘इन्डस्ट्रियल’ मोडलमा विकास गर्ने नीति लिइएको छ । कार्यक्षमता र सेवाका आधारमा ब्रोकरलाई चार श्रेणीमा विभाजन गरी स्टक डिलरसिपसहितको विस्तृत संरचनामा लैजाने योजना छ ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राविधिक क्षमता, अर्डर म्यानेजमेन्ट र साइबर सुरक्षामा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । नेप्सेका लागि करिब ३१–३२ वटा नयाँ नियमन तयार पारिएको र ती छिट्टै जारी गरिने अध्यक्ष भट्टले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK