काठमाडौँ – सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको बैंक खाता रोक्का गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै उखु किसानको रकम भुक्तानी नगर्ने ३ सुगर मिलको बैंक खातामा कारोबार गर्न रोक्का गरेको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईका अनुसार अन्नपूर्ण सुगर, इन्दिरा सुगर एण्ड एग्रो र लुम्बिनी चिनी मिलको बैंक खाता रोक्का गरिएको हो । उखु मिलहरुलाई पैसा तिर्न पटक-पटक ताकेता गर्दा पनि नदिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय यस्तो प्रक्रिया अघि बढाएको हो ।
यता, बैंक खाता रोक्का गर्न मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार समेत गरिसकेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।
पाँच वटा उद्योगले भने उखु किसानहरुको सबै रकम भूक्तानी दिइसकेका छन् । भुक्तानी दिनेमा हिमालयन सुगर मिल्स् प्राली, इन्दुशंकर चिनी उद्योग प्रालि, इष्टर्न सुगर मिल्स, रिलायन्स सुगर एण्ड केइ प्राली र भागेश्वर सुगर प्रालि रहेका छन् ।
यस्तै महालक्ष्मी सुगर मिल ११ करोड ५० लाख भूक्तानी गरेको छ भने अझै २१ करोड ४० लाख तिर्न बाँकी नै रहेको छ । अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौंतामा ३ करोड ९० लाख मात्र भूक्तानी गरेको छ । लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ भने इन्दिरा सुगर मिल्सले ७४ लाख भुक्तानी गर्न बाँकी छ ।
त्यसैगरी एभरेष्ट सुगर मिलले बैंक खाता नभएका किसान बाहेक सबैको भूक्तानी दिएको छ भने बाबा बैजुनाथ चिनी उद्योग र वाग्मती खाडसारी मिल्स प्राली सम्पर्कविहिन भएका छन् । यी दुई उद्योगको ८ करोड ४१ लाख रुपैंया बक्यौंता छ।