
भोजपुर । भोजपुर-चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्ग निर्माणको काम ९५ प्रतिशत सकिएको छ । सडकखण्डको ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रको काम सकिएको हो । यही वैशाख महिनाभित्र सम्पूर्ण काम सक्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ । कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भएपनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताउनुभयो । तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२/७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भएपनि लकडाउन, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।
खासगरी काम गर्ने समय पाँच महिना मात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिनुभयो । सडकको निर्माण लागत करिब ६५ करोड रुपैयाँ रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेको छ । पहिलो प्याकेजको काम पूर्णरूपमा सम्पन्न भएको छ । दोस्रो प्याकेजको दुई किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । सडक निर्माण भइरहेको स्थलको टेम्केमैयुङ गाउँपालिकाले अनुगमन गरिरहेको छ । कम्पनीको कामको गति हेर्दा काम वैशाखभित्रै सम्पन्न हुने देखिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, ‘कामको गति हेर्दा यही वैशाखभित्र सम्पन्न हुने देखिएको छ । कामलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन हामीले निर्वाह गर्ने भूमिका गरिरहेका छौँ । सडक निर्माणले पूर्णता पाएपछि यहाँका स्थानीयवासीलाई सहजता थपिने छ ।’
सडक निर्माण सम्पन्न भएपश्चात जिल्लाको विकासमा टेवा पुग्ने देखिएको छ । सडक विस्तारले गति लिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ । सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्र टेम्केडाँडा, चखेवा भञ्ज्याङलगायत स्थानमा मानिस पुग्न थालेका छन् । साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउनसमेत सहज भएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी प्रेम राईले भन्नुभयो, ‘सडक कालोपत्र भएपछि यहाँ अन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढेको छ भने कृषि उपजलाई बजारसम्म पुर्याउन सहजता भएको छ ।’ रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्